काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन जसरी पनि सफल पार्न सबै राजनीतिक दलको सहभागिता आवश्यक रहेको बताएकी छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचन राष्ट्रको भविष्यसँग जोडिएको विषय भएको उल्लेख गर्दै स्थिर र दिगो लोकतन्त्रका लागि चुनाव अपरिहार्य रहेको बताइन्।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, “मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो, धन्यवाद। यो घर तपाईंहरूकै हो। म न्याय क्षेत्रको मान्छे हुँ। राष्ट्रपति ज्यूबाट चुनाव गराउने कार्यादेश पाएअनुसार सरकारले निर्वाचनको तयारी गरिरहेको छ। प्रशासनिक काम–कारबाहीबाट अलग भएर निर्वाचनमै केन्द्रित हुन रक्षाबाहेकका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु।”
उनले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइसकेको जानकारी दिँदै सुरक्षाकर्मीको मनोबल उच्च रहेको बताइन्। “अब कुनै अलमल नगरी राष्ट्रको भविष्य सम्झेर निर्वाचन सफल पारौँ, यो हामी सबैको साझा जिम्मेवारी हो,” प्रधानमन्त्री कार्कीले आग्रह गरिन्।
बैठकपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रमुख दल निर्वाचनमा जान तयार रहेको बताएका छन्। उनले भने, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस रेडी छ, एमाले रेडी छ, अरू दल पनि रेडी छन्। अब सरकारले सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्छ।” बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए। उनीहरूले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री निवास बालुवाटार निकट स्रोतले जनाएको छ।






