मेलम्ची। विवादको साटो मेलमिलापको बाटो अपनाउने उद्देश्यसहित आयोजित न्यायिक तथा कानुनी साक्षरता सम्बन्धी दुईदिने तालिम आज मेलम्चीमा सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाको न्यायिक समितिको आयोजनामा सम्पन्न तालिमको समापन गर्दै नगर उपप्रमुख उमा प्रधानले समयअनुसार विवादका स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै यस्ता तालिमहरू अपरिहार्य रहेको बताउनुभयो।
उहाँले मानिसका मानसिक पीडामा मलमपट्टी लगाउने काम मेलमिलापकर्ताले गर्ने भएकाले राज्यले मेलमिलाप प्रणालीलाई थप संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले समाजलाई शान्त, सहज र सुसंस्कृत बनाउन मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। दुवै पक्षको ‘जित–जित’ हुने गरी विवाद समाधान गर्न सकिए समाजमा सकारात्मक सन्देश जाने उहाँको भनाइ थियो। उहाँले मेलमिलापकर्ताहरूलाई अझ प्रभावकारी ढंगले काम गर्न सुझावसमेत दिनुभयो।
तालिमका सहभागी मेलम्ची–२ का कुमार चौलागाईंले तालिम उपलब्धिमूलक तथा जानकारीमूलक रहेको प्रतिक्रिया दिनुभयो। कानुनी साक्षरता, नियम–कानुनका व्यवस्था लगायत विषयमा गहिरो छलफल गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो।
त्यस्तै मेलम्ची–११ की सहभागी सानुमैया पण्डितले संविधान, कानुन, मुद्दा तथा मुद्दाका प्रकारबारे उपयोगी जानकारी प्राप्त भएको बताउनुभयो। संविधानका धारा, उपधारा, दफा र अनुसूचीसम्बन्धी ज्ञान हासिल भएको उहाँको भनाइ थियो।
नगरपालिकाका न्यायिक सहजकर्ता अस्मिता अर्यालका अनुसार कार्यक्रममा प्रत्येक वडाबाट न्यायिक सम्पर्क व्यक्ति र मेलमिलाप संयोजक गरी जम्मा २६ जनाको सहभागिता रहेको थियो। तालिमका क्रममा अधिवक्ता उद्भवप्रसाद अधिकारी र रामबाबु नेपालद्वारा लिखित ‘न्यायिक समितिको सारथी’ नामक पुस्तकसमेत सहभागीहरूलाई वितरण गरिएको थियो।







