सिन्धुपाल्चोक ।

सस्तो दरमा डलर सटही गरिदिने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५, मुडेमा सक्रिय उक्त गिरोहलाई प्रहरीले ठगी गरिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार २०८२ साल पुस १४ गते दिउँसो करिब ४स्३० बजे “सस्तो दरमा डलर सटही गरिदिने” भन्दै ठगी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–६ निवासी अन्दाजी ४२ वर्षका मकर ध्वज तामाङ, बाह्रबिसे नगरपालिका–३ निवासी अन्दाजी ४५ वर्षका जितबहादुर तामाङ, सोही स्थानका अन्दाजी ३५ वर्षका विरिङ दोर्जे लामा र बाह्रबिसे नगरपालिका–३ कै अन्दाजी २४ वर्षीया सबिना तामाङ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नगद ९ लाख ९५ हजार रुपैयाँ, दुई थान मोटरसाइकल, छ थान मोबाइल फोन तथा एक थान चेकबुक बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीले यस्ता ठगीका घटनाबाट बच्न सर्वसाधारणलाई अपरिचित व्यक्ति वा समूहबाट आउने अस्वाभाविक रूपमा सस्तो दरको सटही प्रस्ताव, सामाजिक सञ्जालमा पठाइने फोटो वा भिडियोका आधारमा मात्र विश्वास नगर्न तथा अपरिचित नम्बरबाट बारम्बार आउने फोनप्रति सचेत रहन आग्रह गरेको छ। यस्ता शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी आपतकालीन नम्बर १०० मा तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ।






