बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले देशमा गरिखानेको दिन सुरुभएको बताउनुभएको छ । उहाँले ठगी खाने र मागी खानेको जमाना गएकाले अब हरेक जनता आत्मनिर्भर बनाउने गरि प्रदेश र स्थानीय तहले काम गरिरहेको बताउनुभयो । मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित गुफाडाडामा आयोजित छैटौं जलवायु सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले जनताको शासन मन नपर्नेहरुले गाजाको तालमा लठ्ठ भएर जेनजीको आन्दोलन हाइज्याक गरेर संसद भवन,सिंहदरबार,अदालत जलाएको आरोप लगाउनुभयो । उहाँले राजनीतिको र राजनीतिक दलको नाममा भ्रमछर्नेहरु गाउँ छिर्न सक्ने भन्दै सचेत हुनपर्ने बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले अहिले निर्वाचन हुने वातावरण नभएको भन्दै सरकार निर्वाचन गर्नेगरि अगाडि नबढेको बताउनुभयो । जनतामा युट्युब,फेसबुकबाट भ्रम छरेर दिगभ्रमित गरेकाले जेलबाट छुटेका कैदीहरुबाट शहर बजार असुरक्षित बनेको बताउनुभयो ।
विकास लाई ब्यबस्थित गरेर लैजाने मुख्यमन्त्री बानियाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले जनमुखी,आयमुखी,गाउँमुखी विकास अहिलेको आवस्यकता भन्दै स्थानीय र प्रदेश सरकार मिलेर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सीप तालिम र प्रविधि हस्तान्तरण गर्दै ७०/३० को कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
लहडमा लागेर सिंहदरबार ,अदालत जलाउनेहरु सामाजिक संजालमा भ्रम छरेर देशमा केहि नभएको भाष्य निर्माण गरेपनि पुराना दलको विकल्प नभएको बताउनुभयो । हुँदा खानेलाई हुने खाने बनाउने र हुनेखानेले गरेको उद्योग कलकारखाना बाट ट्याक्स लिएर हुँदा खाने लाई उकास्नु राजनीतिक धर्म भएको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले मेलम्ची गुफाडाडा ओखरेनी सम्मको सडक निर्माणको जिम्मेवारी लिदै गुफाडाडालाई पर्यटकीय केन्द्र बनाउने बताउनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ संग आफू निरन्तर समन्वय र सम्पर्कमा रहेको भन्दै यहाँको सुखदुःखमा सधैं संगै रहने समेत बताउनुभयो ।
नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको भन्दै अस्वभाविक बिकासको नाममा बिनास तिर नलाग्न र साच्चिकै जलवायु सम्मेलन सफल बनाउन लाग्न समेत कार्यक्रममा शुभकामना व्यक्त गर्नुभयो ।






