काठमाडौं । अर्याल समाज काठमाडौंले नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक अर्याललाई सम्मान गरेको छ।
खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा गोकर्णेश्वर क्षेत्रबाट राष्ट्रकै उच्च ओहदामा पुग्न सफल भएको योगदानको कदर गर्दै अर्याल समाजले दुवै व्यक्तित्वलाई सम्मान गरेको हो। सोही अवसरमा विद्यालयले पनि मुख्य सचिव अर्याल र उपकुलपति अर्याललाई सम्मान गरेको थियो।
कार्यक्रममा मुख्य सचिव अर्याल र उपकुलपति अर्याल बाल्यकालदेखि नै एक–अर्काका साथी तथा सारथीका रूपमा सँगै अघि बढ्दै आएको प्रसंग उल्लेख गरिएको थियो।
त्यसैगरी, हालै मेकानिकल इन्जिनियरिङ विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेका डा. शेखर अर्याललाई समेत सम्मान गरिएको थियो।
सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्वहरूले आ–आफ्ना अनुभव तथा जीवनका संघर्षका कथा प्रस्तुत गरेका थिए। कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक रमेश अर्यालसहित अर्याल समाजका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







