सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ पनि फागुन २१ को चुनावी सरगर्मीमा छ । अघिल्लो निर्वाचनमा माओवादी–काँग्रेसको मतसमिकरणका आधारमा काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत विजयी भएका थिए । यसपटक भने मैदान फरक छ, तर मुख्य प्रतिस्पर्धी फेरि पनि परिचित अनुहार नै छन् ।
एमालेबाट शेरबहादुर तामाङ, काँग्रेसबाट बंशलाल तामाङ र ‘तारा’ चिन्हसहित नेकपाबाट युवराज दुलाल चुनावी मोर्चामा छन् । शेरबहादुर पूर्वसांसद, दुलाल प्रदेशसभा सदस्यबाट राजीनामा दिएर संघमा उत्रिएका र बंशलाल इन्द्रावती गाउँपालिकाका निर्वाचित अध्यक्ष हुन् । यी तीनैको उपस्थितिले प्रतिस्पर्धा त्रिकोणीय देखिएको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झलककुमार श्रेष्ठ र राप्रपाबाट युवा इन्जिनियर गोपीकृष्ण चौलागाईं पनि मैदानमा छन् । यद्यपि, मतदाताबीच यी उम्मेदवारहरूलाई ‘हेभी वेट’ का रूपमा नलिइए पनि चुनाव नजिकिँदै जाँदा उनीहरूले प्रस्तुत गर्ने एजेन्डा र शैलीले समीकरणमा प्रभाव पार्न सक्ने आकलन छ । तथापि, मूल प्रतिस्पर्धा एमाले, काँग्रेस र नेकपाबीच नै केन्द्रित देखिन्छ ।

एमाले नेता शेरबहादुर तामाङ बलियो संगठनको आडमा मैदानमा छन् । गत निर्वाचनमा पनि समानुपातिक मतमा एमाले पहिलो हो । राप्रपा नेता पशुपति शम्शेर राणालाई पराजित गर्दै सांसद बनेका तामाङ कानुनमन्त्री हुँदा राजीनामा दिनुपरेको प्रसंगले अझै चर्चा पाउँछ । समर्थकहरू यसलाई ‘अन्याय’ ठान्छन् भने आलोचकहरू यसलाई उनको राजनीतिक छायाँका रूपमा हेर्छन् । पटक–पटक चुनावी मैदानमा उत्रिएको वाहेक अरु उनलाई अरोप छैन ।
काँग्रेस उम्मेदवार बंशलाल तामाङमाथि अमेरिकामा बसोबास र नागरिकतासम्बन्धी प्रश्नहरू उठाइएका छन् । अभियन्ता युवराज सफलले अमेरिकामा घर किनेको तस्वीर सार्वजनिक गर्दै प्रश्न गरेका छन् । काँग्रेसकै पूर्वमहासमिति सदस्य सुदर्शन आचार्यले अनलाइन लेखमार्फत बंशलाल अमेरिका बसेको सन्दर्भ उल्लेख गरेका छन् । यी दाबीहरूको आधिकारिक पुष्टि वा खण्डन सार्वजनिक रूपमा नआए पनि चुनावी बहसमा यो विषय प्रवेश गरिसकेको छ । समर्थकहरू भने बंशलालले विदेशको अनुभव र ज्ञान नेपालमै प्रयोग गर्न फर्किएको दाबी गर्छन् ।
पूर्वमाओवादी नेता युवराज दुलाल संगठनात्मक रूपमा अपेक्षाकृत कमजोर आधारबाट मैदानमा छन् । सांसद तथा मन्त्री हुँदा ‘प्रत्येक बजेटमा १० प्रतिशत पार्टी खर्च उठाएको’ आरोप विगतमा चर्चामा आएको थियो । केही निर्माण कार्यसँग सम्बद्ध व्यक्तिहरूले सार्वजनिक रूपमा प्रश्न उठाएको प्रसंग पनि स्मरण गरिन्छ । यी आरोपहरूबारे दुलालको औपचारिक धारणा स्पष्ट रूपमा सार्वजनिक भएको छैन ।
प्रदेशसभा सदस्य पद बीचमै छोडेर संघीय चुनावमा उत्रिएको विषयले पनि उनलाई घेरेको छ । यस कदमले प्रदेशमा पुनः निर्वाचनको खर्चिलो दायित्व सिर्जना गरेको तर्क उठाइएको छ । पार्टीभित्र एउटै व्यक्तिलाई पटक–पटक अवसर दिएको भन्दै असन्तुष्टि रहेको चर्चा पनि सुनिन्छ ।
माओवादी द्वन्द्वमा ज्यान गुमाएका परिवारप्रति राजनीतिक उत्तरदायित्व, पार्टी पहिचानको परिवर्तन, र विगतका प्रतिबद्धताबारे मतदाताले सोध्न सक्ने प्रश्नहरू पनि दुलालका लागि चुनौती बन्न सक्छन् ।
रास्वपा र राप्रपाका उम्मेदवारहरूले चुनावी माहोल बनाइरहेका छन् । यद्यपि उनीहरूलाई तत्काल ‘निर्णायक’ का रूपमा नहेरिए पनि अन्तिम समयमा मत विभाजन वा मुद्दाकेन्द्रित बहस सिर्जना गर्ने सम्भावना भने कायमै छ ।
सिन्धुपाल्चोक–२ मा यसपटक चुनाव केवल दलबीचको प्रतिस्पर्धा मात्र होइन, उम्मेदवारहरूको विगत, विश्वसनीयता, संगठन, र सार्वजनिक प्रश्नहरूको जवाफ दिने क्षमताको परीक्षा पनि बनेको छ । पुराना अनुहारसँग नयाँ प्रश्न जोडिएका छन् । एमाले, काँग्रेस र नेकपाबीचको कडा प्रतिस्पर्धामा मतदाताले कसलाई विश्वास गर्छन् । यसको उत्तर अन्ततः मतपेटिकाले नै दिनेछ ।






