कोशी प्रदेशसभाको हिउँदे (आठौं) अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन्।

जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन र सचिवालयमा आगजनी भएपछि नियमित स्थानमा बैठक सञ्चालन गर्न नसकिएकोले विराटनगरको वीरेन्द्रसभा गृह भाडामा लिएर माघ २५ गतेदेखि अधिवेशन सञ्चालन गरिएको थियो।
करिब दुई महिना सञ्चालन भएको यस अधिवेशनमा जम्मा १५ वटा बैठक बसेका थिए। अधिवेशनले तीनवटा महत्वपूर्ण विधेयक पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। पारित विधेयकहरूमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०६९ संशोधन विधेयक, प्रदेश विधायन सम्बन्धी विधेयक तथा कोशी प्रदेश आम–सञ्चार व्यवस्थापन सम्बन्धी विधेयक रहेका छन्।
अधिवेशन अवधिभर ‘शून्य समय’ मा ८३ जना सांसदले आफ्ना धारणा राखेका थिए भने ‘विशेष समय’ लिएर १९ जना सांसदले सम्बोधन गरेका थिए।






