काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा आफ्नो नाम जोडिएको विषयमा सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आफूमाथि लगाइएका आरोपहरू तथ्यभन्दा बढी हल्लामा आधारित रहेको दाबी गरेका छन्। साथै, पार्टीले गर्ने हरेक निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।
गुरुङले आफ्नो सम्पत्ति विवरणमा दुई करोडभन्दा बढीको सेयर लगानी स्पष्ट रूपमा उल्लेख गरेको उल्लेख गर्दै “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपलाई अस्वीकार गरेका छन्। उनका अनुसार उक्त लगानी धितोपत्र बजारमा कारोबार हुने सेयरअन्तर्गत वर्गीकृत गरिएको हो, लुकाइएको होइन।
उनले सेयर खरिद गर्नु कुनै अपराध नभएको उल्लेख गर्दै सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको र त्यसको स्पष्ट अभिलेख रहेको बताएका छन्। साथै, लगानीका लागि प्रयोग गरिएको रकम कर्जा (ऋण) मार्फत जुटाइएको र त्यससम्बन्धी तमसुक तथा बैंक रेकर्ड उपलब्ध रहेको जानकारी दिएका छन्।
“विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपबारे उनले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको तर्क गरेका छन्।
त्यस्तै, ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी आरोपमा पनि उनले छानबिन प्रक्रिया गृह मन्त्रालय अन्तर्गत नभई अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्धीकरण विभागले गर्ने भएकाले आफूले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन्।
गुरुङले लगानीमा जोखिम स्वाभाविक हुने उल्लेख गर्दै पछि भएका घटनालाई आधार बनाएर अघिको निर्णयमाथि दोषारोपण गर्नु उपयुक्त नहुने बताएका छन्।
अन्त्यमा उनले आरोप र सत्य फरक कुरा भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताएका छन्। साथै, अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।







