चितवन ।

चितवनको देवघाट धामस्थित श्री लक्ष्मीनारायण मन्दिरमा ब्रह्मोत्सव तथा वार्षिक उत्सव–२०८३ आयोजना हुने भएको छ। आयोजक समितिले सार्वजनिक गरेको निमन्त्रणाअनुसार वैशाख १४ गतेदेखि १६ गतेसम्म विभिन्न धार्मिक कार्यक्रमसहित उत्सव मनाइनेछ।
उत्सवअन्तर्गत पहिलो दिन वैशाख १४ गते मण्डल पूजन, ध्वजा रोहण तथा अङ्कुरारोपण गरिनेछ। दोस्रो दिन वैशाख १५ गते भगवानको नगरपरिक्रमा, नौका विहार, पाठ पारायण, हवन तथा विशेष तिरुमञ्जन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। त्यस्तै, वैशाख १६ गते सेवा आराधना, विशेष तिरुमञ्जन, ध्वजा अवरोहण तथा पूर्णाहुति कार्यक्रमसहित उत्सव समापन गरिनेछ।
आयोजकले सम्पूर्ण आचार्य, भक्तजन तथा श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई धार्मिक पुण्य आर्जन गर्न आग्रह गरेको छ। देवघाट धाम धार्मिक तथा आध्यात्मिक दृष्टिले महत्वपूर्ण स्थल भएकाले उत्सवमा ठूलो संख्यामा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।






