काठमाडौँ : सुनील लम्सालको एक अभिव्यक्तिले नयाँ विवाद जन्माएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना को स्थलगत अनुगमनका क्रममा उनले काममा ढिलाइ गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै ‘काम नगरे खुट्टा भाँच्दिनू’ भन्ने निर्देशन दिएको भिडियो सार्वजनिक भएपछि चौतर्फी प्रतिक्रिया आएको हो ।
सडक निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै मन्त्रीले सम्बन्धित अधिकारीलाई ठेकेदारलाई तत्काल काममा लगाउन निर्देशन दिएका थिए । तर, उनको अभिव्यक्तिलाई लिएर नेपाल निर्माण व्यवसायी महासंघ ले कानुनी शासनको मर्मविपरीत भएको भन्दै आपत्ति जनाएको छ । महासंघका अनुसार ठेकेदारले सम्झौता उल्लङ्घन गरे कानुनी कारबाही गर्न सकिन्छ, तर हिंसात्मक भाषा स्वीकार्य हुन सक्दैन ।
यता धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले भने मन्त्रीको उद्देश्य निर्माण कार्यमा तीव्रता ल्याउने रहेको बताएकी छन् । उनका अनुसार बाटो निर्माणमा कुनै बहानामा ढिलाइ नहोस् भन्ने सन्देश दिन खोजिएको हो ।
सार्वजनिक भएको भिडियोपछि मन्त्रीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालदेखि निर्माण क्षेत्रसम्म पक्ष–विपक्षमा बहस सुरु भएको छ ।







