सिन्धुपाल्चोकमा जारी जिल्लास्तरीय पाँचपोखरी टी–ट्वान्टी क्रिकेट प्रतियोगिता यसपटक केवल रन, विकेट र उपाधिको प्रतिस्पर्धामै सीमित छैन। प्रतियोगिताले क्रिकेटमार्फत पुस्तालाई जोड्ने एउटा प्रेरणादायी कथा पनि लेखिरहेको छ।
आठौँ संस्करणको प्रतियोगितामा तीन बुबा–छोरा जोडीको सहभागिताले मैदानलाई विशेष बनाएको छ। एउटै प्रतियोगितामा बुबाले क्रिकेटको अनुभव बाँडिरहेका छन् भने छोराहरू नयाँ जोशका साथ मैदानमा भविष्य कोर्दै छन्।
जिल्ला क्रिकेट सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष विजयकुमार धितालसँगै उनका छोरा सार्थक धिताल प्रतियोगितामा सक्रिय छन्। बुबा क्रिकेटको नेतृत्व र व्यवस्थापनमा छन् भने बागमती प्रदेश र राष्ट्रिय उमेर समूहबाट खेलिसकेका सार्थक मैदानमा टोलीको भरोसाका खेलाडी बनेका छन्।
त्यस्तै, जिल्ला क्रिकेट सङ्घका सचिव तथा प्रशिक्षक अजयकुमार धितालले अब प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन् भने उनका छोरा आदित्य धिताल मैदानमा आफ्नो उत्कृष्ट खेलमार्फत टोलीलाई बलियो बनाइरहेका छन्।
अर्कोतर्फ, अनिल तामाङ र उनका छोरा अरबमान तामाङ फरक–फरक टोलीबाट प्रतिस्पर्धा गरिरहेका छन्। जर्सी फरक भए पनि क्रिकेटप्रतिको लगाव र समर्पण दुवैमा समान देखिन्छ।
विशेष कुरा के छ भने, यी सबै बुबा–छोरा जोडी पाँचपोखरी थाङपाल गाउँपालिकाकै हुन्। यसले क्रिकेटप्रति त्यहाँको बढ्दो आकर्षण र नयाँ पुस्तामा खेल संस्कृतिको निरन्तरताको स्पष्ट संकेत दिएको छ।
पाँचपोखरी टी–ट्वान्टीले यसपटक एउटा सन्देश दिएको छ—क्रिकेट केवल खेल होइन, पुस्ताले पुस्तालाई सुम्पिने सपना, संस्कार र प्रेरणाको यात्रा पनि हो।







