काठमाडौं – नेपालमा लागुऔषध कारोबार विस्तार भइरहेको चिन्ताका बीच सशस्त्र प्रहरी बल नेपालले काठमाडौंको गाङखेल क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले भारतबाट नेपाल भित्र्याइ अवैध रूपमा बिक्री–वितरण भइरहेको सूचनापछि निगरानी बढाएको थियो। सोही क्रममा काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट तीन जनालाई नियन्त्रणमा लिँदै ‘ट्रामाडोल’ नामक लागुऔषधका एक लाख २० हजार क्याप्सुल बरामद गरिएको हो ।
पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुंगा मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन् ।
कारोबारमा प्रयोग भइरहेको टाटा कम्पनीको बीएसी ७०१७ नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन र नगद नेपाली रुपैयाँसमेत प्रहरीले बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले बरामद लागुऔषध भारतबाट नेपाल भित्र्याई विभिन्न क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको संकेत गरेको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान अघि बढाइएको छ ।
सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बरामद सामग्रीसहित पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया चलिरहेको जानकारी दिए ।





