सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

गाउँपालिकाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ राहतका लागि उपलब्ध गराउने निर्णय गरेको जनाएको हो ।
त्यसैगरी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यालय कर्मचारीले एक दिनको पारिश्रमिक बराबरको रकम समेत राहत कोषमा जम्मा गर्ने भएका छन् ।
गाउँपालिकाले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
विपद्को घडीमा प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, निजी क्षेत्र र आम नागरिकलाई समेत सहयोगमा जुट्न गाउँपालिकाले अपिल गरेको छ ।






