काठमाडौ : लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानूनी उपचारमा जाने चेतावनी दिएका छन् ।

विज्ञप्ति जारी गर्दै उनले मिति आज ‘स्कूप खबर’ नामक अनलाइनमा “आइजीविरुद्ध निरन्तर प्रहार, कतै खगेन्द्र सुनार परिचालित त छैनन् ?” शीर्षकमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका हुन् । उक्त समाचारमा आफ्नो नामसमेत जोडेर लेखिएका सामग्रीहरू पूर्णतः तथ्यहीन, भ्रामक, मनगढन्ते र अनर्गल भएको भन्दै उनले घोर आपत्ति र खेद व्यक्त गरेका छन् ।
संगठनप्रतिको व्यावसायिक इमानदारीता, पेसागत निष्ठा र कार्यकुशलता घामजत्तिकै पारदर्शी रहेको उल्लेख गर्दै डिआइजी खत्रीले आफ्नो निष्कलङ्क छवि र इमानदारीताबाट अत्तालिएका केही तत्त्वहरूले कपोलकल्पित कथा बुनेर प्रहार गर्न खोजेको दाबी गरेका छन् ।
समाचारका नाममा आफ्नो पेसागत निष्ठा र आत्मसम्मानमा आघात पुर्याउने उद्देश्यले प्रकाशित भ्रामक सामग्रीको विश्वास नगर्न सबैमा अनुरोध गर्दै खत्रीले सो विषयवस्तुका सम्बन्धमा अविलम्ब कानूनी प्रक्रियामा जाने जानकारी दिए ।







