सिन्धुपाल्चोक : जुगल गाउँपालिका–३, टापगाउँका युवा फुटबल खेलाडी सन्दीप श्रेष्ठ FIFA U-15 World Cup & Festival 2026 को छनोटमा पर्न सफल भएका छन् ।
गाउँबाट फुटबल यात्रा सुरु गरेका सन्दीप मेहनत, अनुशासन र निरन्तर अभ्यासका कारण अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्न सफल भएका हुन् । उनको सफलताले जुगल गाउँपालिका–३ तपगाउँसँगै सिंगो सिन्धुपाल्चोकमा खुसी र गर्वको माहोल सिर्जना भएको छ ।
सन्दीपले आगामी २३ अक्टोबर २०२६ मा हुने प्रतियोगितामा सहभागी हुने तयारी गरिरहेका छन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका सन्दीपको सफलताले जिल्लाको खेल क्षेत्रलाई समेत उत्साहित बनाएको छ ।
यसैबीच, जुगल गाउँपालिका–३ का वडाध्यक्ष लक्ष्मण दोङले सन्दीपलाई सफलताको शुभकामना दिँदै उनको खेल यात्रामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वडाध्यक्ष दोङले सन्दीपको सफलता व्यक्तिगत उपलब्धि मात्र नभई वडा, गाउँपालिका र सिंगो सिन्धुपाल्चोककै गौरवको विषय भएको बताएका छन् ।
सन्दीप डम्बरबहादुर श्रेष्ठ र देवीमाया श्रेष्ठका छोरा तथा चन्द्रबहादुर श्रेष्ठका नाति हुन् । परिवारले सन्दीपको उपलब्धिप्रति खुसी व्यक्त गर्दै आगामी अन्तर्राष्ट्रिय यात्राका लागि सबैको साथ र शुभेच्छाको अपेक्षा गरेको छ ।
गाउँको मैदानबाट फुटबल यात्रा सुरु गरेका सन्दीप अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा बोकेर उत्रिने तयारीमा छन् ।







