सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये माओवादीले नेतृत्व गरेको पालिकामा धेरै बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै बेरुजु माओवादीका केन्द्रीय तहमा रहेका नेताहरू रहेको चौतारा साँगाचोक गढी नगरपालिकामा रहेको छ ।

जहाँ माओवादी उपाध्यक्ष अग्नि सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा मेयर छन् । यो नगरपालिकामा माओवादी बहुमतमा पनि छ । यहाँ तेइस करोड तीन लाख चौसठ्ठी हजार रुपैयाँको आधारमा बेरुजुमा यो पालिका १२ स्थानमा छ ।
कुल बजेटको आधारमा बेरुजु ७।६७ प्रतिशत हो भने प्रतिशतको आधारमा पनि १२ औं स्थान हो । यो पालिका सिन्धुपाल्चोकबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने सबै नेताहरूको गृह पालिका हो । माओवादी उपाध्यक्ष अग्नि सापकोटा तथा अग्निका भतिजा सांसद तथा केन्द्रीय सदस्य माधव सापकोटा,प्रदेश सांसद युवराज दुलाल तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा र अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा पनि यही पालिकाका बासिन्दा हुन् ।
माओवादीले नै नेतृत्व गरेको लिसंखु पाखर गाउँपालिका र जुगल गाउँपालिकामा पनि बेरुजु धेरै देखिएको छ । माओवादीका तर्फबाट राजु लामा अध्यक्ष रहेको लिंसंखु पाखर गाउँपालिकामा ६ करोड पन्ध्र लाख रुपैयाँ छ । यो कुल वजेटको आधारमा ५।१५ प्रतिशत हो । सिन्धुपाल्चोकका १२ पालिका मध्ये बेरुजुको ११ औं स्थानमा यो पालिका परेको छ ।
माओवादीका गङ्गा तामाङ अध्यक्ष रहेको बलेफी गाउँपालिकामा पनि पाँच करोड छपन्न लाख रुपैयाँ छ । यो पालिका बेरुजु धेरै हुनेमध्ये आठौँ स्थानमा परेको छ । त्यसैगरी माओवादीले नै नेतृत्व गरेको जुगल गाउँपालिकामा दुई करोड ४१ लाख रुपैयाँ छ । प्रतिशतको आधारमा यो पालिका ६ औं स्थानमा बेरुजुमा परेको छ ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये चार पालिकामा माओवादी बाट बिजयी जनप्रतिनिधिको नेतृत्व रहेको छ । बेरुजुमा उनीहरु अग्रपङ्तिमा छन् । जिल्लाको एमालेले नेतृत्व गरेको इन्द्रावती गाउँपालिकामा सबैभन्दा थोरै बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । जहाँ एमालेका झम्क नेपाल अध्यक्ष छन् । दोस्रो कम बेरुजु काँग्रेस नेतृत्व रहेको भोटेकोशी गाउँपालिका रहेको छ ।






