गायिका एलिना चौहानका पूर्वश्रीमान विष्णु सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले गर्दा आफू मानसिक पीडाबाट गुज्रिएको बताएका छन् ।
आफूहरू सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याएको उनले जनाएका छन् ।
दुबै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्ने उनको भनाई छ ।
‘अलग बसेको लगभग १ वर्ष र सम्बन्धविच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिले पुराना विषयहरू सामाजिक संजालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यवसायिक वातावरणमा नकारात्मक असर पुर्याइरहेको छ’ उनले लेखेका छन् ।
सापकोटाले मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित अस्ट्रेलियामा कानूनी प्रक्रिया अघि बढाइसकेको उनले उल्लेख गरेका छन् । ‘कानुन सबैको लागि हुन्छ र न्यायको सहि मार्ग पनि त्यही हो’ उनले लेखेका छन् ।
उनले आफ्नो मौनतालाई कमजोरीको रुपमा नलिन आग्रह गरेका छन् । उनले प्रश्न गरेका छन्, ‘अहिले दुबैका आ-आफ्ना व्यक्तिगत, पारिवारिक र व्यवसायिक जीवन छ । कहिलेसम्म यसको सिकार हुनुपर्ने हो हामी ?’
उनले अहिले नेपाल र अस्ट्रेलियामा कानूनी परामर्श लिइरहेको पनि बताएका छन् ।






