तातोपानी नाका र अरनिको राजमार्गको बिग्रदो अवस्थाका बारेमा छलफल गर्न गतहप्ता एउटा कार्यक्रम आयोजना भएको थियो । बाह्रबिसे वजारमा आयोजना भएको सो कार्यक्रम अहिले विवादमा छ । विशेष गरेर माओवादीका नेताहरूले सो कार्यक्रम वैध नभएको बताईरहेका छन् । काँग्रेसको सहयोगमा सिन्धुपाल्चोक क्षेत्र नम्वर एकमा बिजयी माननीय माधव सापकोटाले यो विषयमा असन्तुष्टि जनाएका छन् । अख्तियारले मुद्दा दर्ता गराएका मोहनबहादुर बस्नेतलाई बोलाएकोमा सापकोटाको आपत्ति छ । तर, सो कार्यक्रममा निम्ता पाएको भने उनले स्वीकार गरेका छन् । उनले भनेका छन् । –

‘मलाई प्रमुख जिल्ला अधिकारीले फोन गरी सबै माननीयहरू र स्थानीय सरकारका प्रमुखहरू सहभागी हुने बताउनु भएको थियो । तर, वास्तविकतामा भ्रष्टाचार मुद्दामा सांसद पद निलम्बनमा परेका व्यक्तिलाई प्रमुख अतिथि बनाइएको रहेछ, प्रदेशसभाका माननीयहरूलाई खबर समेत गरिएको रहेनछ ।
मलाई जिल्ला विपद् व्यवस्थापन समिति आयोजक भनेर जानकारी दिइयो, तर त्यो पनि गलत रहेछ । समग्र घटनाक्रम हेर्दा भ्रष्टाचार मुद्दामा परेका व्यक्तिलाई सुनपानी छर्कन प्रमुख जिल्ला अधिकारीलाई प्रयोग गरिएको जस्तो देखिन्छ, जुन प्रशासनिक र नैतिक मर्यादाविपरीत छ ।
म प्रतिनिधि सभाले गठन गरेको “सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी संसदीय छानबिन विशेष समितिको सदस्य भएको हुनाले सो दिनको महत्त्वपूर्ण बैठकमा व्यस्त रहेँ र कार्यक्रममा सहभागी हुन सकिनँ । भ्रष्टाचारको अभियोग लागेका र कानुनी रूपमा निलम्बनमा परेका व्यक्तिलाई सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाउनु शासन प्रणाली, नैतिकता र जनविश्वासको ठाडो अपमान हो ।’
तर, आयोजकका अनुसार सो कार्यक्रममा कसैलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गरिएको थिएन ।






