सिन्धुपाल्चोक ।

झन्डै चार दशकदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका भोटेकोशीका मुके शेर्पाले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र बढ्दो गुटबन्दी र आन्तरिक अस्वस्थ प्रतिस्पर्धाका कारण कांग्रेसको अवस्था झन् कमजोर बन्दै गएको भन्दै उनले पार्टी छोड्ने निर्णय गरेका हुन् ।
वि.सं. २०४० सालअघिदेखि नै कांग्रेसको सक्रिय सदस्य बनेका शेर्पा भोटेकोशी गाउँपालिका–१ का पूर्व वडा अध्यक्षसमेत हुन् । स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले जित हासिल गरेको अवस्थामा समेत उनले फरक राजनीतिक समीकरणबाट वडा अध्यक्षमा विजय हासिल गरेका थिए ।
स्थानीय स्तरमा कार्यकर्ता र सर्वसाधारणसँग राम्रो सम्बन्ध कायम गरेका कारण शेर्पालाई लोकप्रिय वडा अध्यक्षका रूपमा चिनिने गरिन्थ्यो । जनप्रतिनिधिको भूमिकामा रहँदा उनले कुनै सेवा–सुविधा नलिएको समेत स्थानीयहरू बताउँछन् ।
शेर्पाले पार्टीका नेताहरूको व्यवहारप्रति असन्तुष्टि जनाउँदै निर्वाचनका समयमा पार्टीभित्र देखिने प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन् । `आफूले टिकट पाए खुसी हुने तर अरूले टिकट पाए हराउनै लाग्ने प्रवृत्ति पार्टीभित्र बढेको छ,´उनले भने ।
उनका अनुसार पार्टीमा योगदान र निष्ठाभन्दा पनि गुट र स्वार्थ हाबी हुन थालेपछि आफूले लामो समयको राजनीतिक यात्रा टुंग्याउने निर्णय गरेका हुन् ।






