नेपाली काँग्रेसका नेता तथा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूलाई कार्यकर्ताले आगामी सभापतिको रुपमा हेर्न चाहेको बताएका छन् । राससका लागि प्रगति ढकाललाई दिएको एक् अन्तवार्तामा सिंहले यो कुरा खुलाएका हुन् । उनले भनेका छन्,-

नेपाली कांग्रेस पार्टीमा सामान्य कार्यकर्ता हुँदै तलैदेखि काम गरेर आएको हुँ । काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, निर्वाचित महामन्त्री भएँ । उपसभापति भएँ । सभापतिमा पनि प्रतिस्पर्धा गरिसकेँ । पार्टीमा सभापति र सरकारमा प्रधानमन्त्री बाहेक अरु जिम्मेवारीमा रहेर काम गरिसकेको छु । अब मेरो दाबेदारी पार्टीभित्र कुन पदमा रहला ? तपाईं आफैँ अनुमान गर्न सक्नुहुन्छ ।
अहिले पार्टीका साथीहरुसँग छलफलमा छु । प्राप्त जिम्मेवारीलाई सधैँ इमानदारीपूर्वक निर्वाह गरेको छु । जिल्ला जाँदा र पार्टीका साथीहरू भेट्दा तपाईंलाई सभापतिका रूपमा हेर्न चाहेका छौँ भनिरहनुभएको छ ।






