काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको नयाँ तालिका लागू भएको भन्ने समाचार र सामाजिक सञ्जालमा फैलिएका अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्राधिकरणका अनुसार हालको विद्युत आपूर्ति व्यवस्था सामान्य रहेको र लोडसेडिङको आवश्यकता नरहेको स्पष्ट गरिएको छ।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, ३७.१ के.भी.ए. सबस्टेशनमाथि हाल भइरहेको मर्मतका कारण केही स्थानमा अस्थायी विद्युत अवरोध भए पनि यो नियमित लोडसेडिङ नभएको र छिट्टै समाधान हुने बताइएको छ।
हाल चनौली वितरण केन्द्रमा केही भार व्यवस्थापन भएको विषयमा अनावश्यक हल्ला गरिएको प्राधिकरणले जनाएको छ ।
अत्यधिक पानी नपरेको कारण जलविद्युत उत्पादनमा केही असर पुगे पनि प्राधिकरणले विद्युत आपूर्ति व्यवस्थापनमा पर्याप्त वैकल्पिक व्यवस्था मिलाइएको र अनावश्यक हल्लामा विश्वास नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
प्राधिकरणले अनावश्यक रूपमा लोडसेडिङको तालिका भनेर समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई पनि आग्रह गरेको छ।






