जालसॅाजी नाटकको लोकप्रियता बढ्डैगयो । बाह्रबिसे आसपासका युवा साथीहरुले आफ्नो गाउॅमा नाटक प्रदर्शनको मॅाग गर्न लागे । साथीहरुको आग्रहमा बाह्रबिसे बजारमा नाटक मॅचन गरियो ।

जिल्लाको पूर्बी भेगको केन्द्रमा र प्रहरी प्रशासनको नाकैअगाडि नाटक प्रदर्शन गर्न सफल भएकोले हाम्रो हौसला बढ्यो । त्यसपछि बिन्जेल ,धुस्कुन ,कर्थली आदि स्थानहरूमा नाटक देखाइयो। बिन्जेलको नाटकमा प्रहरी हस्तक्षेप हुन सक्ने संकेत बुझिएकोले निर्धारित समयमा नभएर त्यसको एक सातापछि नाटक प्रदर्शन भएको थियो ।
यस नाटकमा केशब नेपाल ( विधानसभा सदस्य) र केशब पौडेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो । नाटक सकेर राती माथिल्लो बाटो घर फर्किदा बिन्जेलवारी पाखामा बाटो भुलेर तीन घण्टा रुमलिंदाको पीडा भनी साध्य छैन ।
२०३८ फाल्गुनको अन्तिम हप्ताको शनिवार कर्थलीमा नाटक प्रदर्शनको कार्यक्रम तय भयो । केशब सर ,रेशम सर र म आबश्यक तयारीको लागि शनिवार बिहानै कर्थलीतिर उकालो लाग्यौ । खाना खाएर हामी ने रा प्रा वि को प्रांगणमा मन्च बनाउन लागेका थियौ ।
साथमा दिलबहादुर पौडेल ,बमबहादुर पौडेल ,नैनबहादुर पौडेल ,ललितबहादुर भण्डारी ,गोबिन्द भन्डारीलगायत १०/१२ जना साथीहरू हुनुहुन्थ्यो ।ठिक त्यही बेला बाह्रबिसे प्रहरी कार्यलयबाट १ जना हवल्दार र २ जना प्रहरी त्यहॅा आइपुगे ।प्रहरीको साथमा २ वटा भरुवा बन्दुक थियो । हवल्दार रित्तै थिए । उनीहरू हाम्रो नाटक रोक्न आएका रहेछन । प्रहरी र हाम्रो सामान्य भनाभन भयो । उनीहरुले नाटक देखाउन पाउदैनौ भने हामीले देखाउछौ भन्यौं ।
उनीहरुले बल प्रयोग गर्छौं भने । हामीले प्रतिकार गर्छौं भन्यौं । उनीहरुले पक्रेर थुन्छौं भनें हामीले कहिलेसम्म थुन्छौ भन्यौं । उनीहरूले जेलमा सडाइदिन्छौं भने हामीले कति जना सडाउछौ भन्यौं । त्यसपछि उनीहरू रिसले मुर्मुरिदै तल्लो गाउॅतिर लागे हामी आफ्नो काममा लाग्यौं । हामीले केही साथीहरूसॅग छलफल गर्यौं र जसरी पनि नाटक देखाउने निस्कर्षमा पुग्यौं । ५० /६० जनाको स्वयॅसेवक ग्रुप बनायौं,पहिलो घेरामा महिला केटाकेटी र बुढाबुढी राख्ने ,अर्को घेरामा युवासाथी हरु बस्ने अन्तिम घेरामा स्वयंसेवक दस्ताले मन्चको सुरक्षा गर्ने योजना बनायौं ।
निर्धारित समयमा कार्यक्रम सुरु गरियो । दिउसो आएका प्रहरीहरु फर्केका रहेनछन । कार्यक्रम सुरु हुनासाथ नाटकस्थलमा आए तर दर्शकहरुको बाक्लो उपस्थिति देखेपछि कार्यक्रममा हस्तक्षेप नगरी फर्किए ।हामी पनि १२/१ बजे राती नाटक सकेर बजार झर्यौं ।
२०४१ को हिउदमा जालसॅाजी नाटकका कलाकारहरूलाई सिडियो कार्यालयमा हाजिर हुने पत्र आयो । पत्रमा साबिक बाह्रबिसे २ का नारायण खड्कासहितको नाम थियो । उनको नाटकमा कुनै साइनो थिएन ,हेर्नसमेत गएका थिएनन। त्यस बेला बलराम कापर सिन्धुपाल्चोकका सिडियो थिए ।
साथीहरूसॅग सल्लाह गर्दा म ,केशब पौडेल र हरि पौडेल तीन जना हाजिर हुने अरू साथीहरू लुकीछिपी रहने निर्णय भयो ।त्यसभेगका पंचहरूले बाह्बिसे प्रहरी कार्यलयको मिलेमतोमा कर्थलीकै ३ जना स्थानीय ब्यक्तिलाई प्रयोग गरेर ३०३८ मा नै हाम्रो बिरूद सार्वजनिक अपराधको मुद्दा हाल्न लगाएका रहेछन । खै किन हो ?तत्कालीन सिडियो चुडामणि उपाध्यायले त्यो मुद्दा बिचराधिन राखेका रहेछन । बलराम कापर आएपछि कार्बाही चलाएका रहेछन ।
सरकारवादी मुद्दामा सिडियोले थुनामा राखेर कार्बाही चलाउन सक्थे । त्यसैले हामी सिधै हाजिर हुन गएनौ । त्यस बेला सिन्धुका जनता पशुपति शमशेर राणा समूह र नेत्रबिक्रम थापा समूह दुई शक्ति केन्द्रमा बिभाजित थिए । हामी पशुपति शमशेरको कीत्तामा थियौं ।
पंचायत उपयोगको नीतिअनुसार बहिरी रूपमा पशुपतिलाई समर्थन गर्थ्यौं । भित्र ब्यबस्था बिरुद्द सॅगठित थियौं । पशुपति शमशेरको सहजीकरणमा सिडियोसॅग कुराकानी भएपछि मात्र हाजिर भयौं । सिडियोले जनही ७५० सात सय पचास धरौटी लिएर तारेखमा छोडे ।चारवटा तारेख बोकेपछि मुद्दा फैसला भयो । हामीले सफाइ पायौं । धरौटी रकम पनि फीर्ता पायौं।यसरी नाटक देखाएको अभियोगमा सार्वजनिक अपराधको मुद्दासमेत खेपियो ।






