जब हामी पृथ्वीबाट चन्द्रमालाई हेर्छौँ, चन्द्रमा जुन तारामण्डल (नक्षत्र) को अगाडि देखिन्छ, त्यसलाई सो दिन अवधिको “नक्षत्र” भनिन्छ।
जस्तै – यदि आज चन्द्रमा अश्विनी नामको तारामण्डल (नक्षत्र ) अगाडि देखियो भने, त्यस दिनलाई “अश्विनी नक्षत्र” भनिन्छ।
अब, “पञ्चक” भन्ने कुरा के हो भने –
जब चन्द्रमा आफ्नो यात्रा गर्दै २७ नक्षत्रमध्ये अन्तिमका पाँचवटा नक्षत्रहरू धनिष्ठा, शतभिषा, पूर्वाभाद्रपदा, उत्तराभाद्रपदा र रेवती नक्षत्रमा पुग्छ, त्यो समयलाई पञ्चक भनिन्छ। यी पाँचै नक्षत्र कुम्भ र मीन राशिमा पर्दछन्।
पञ्चक तब सकिन्छ जब चन्द्रमा फेरि मेष राशिको सुरुवाती नक्षत्र अश्विनीमा प्रवेश गर्छ।
उदाहरणका लागि:
हिजो राति ९:४२ बाट चन्द्रमा धनिष्ठा नक्षत्र मा प्रवेश गर्यो।
आज बेलुकाबाट चन्द्रमा शतभिषा नक्षत्र मा देखिँदैछ।
त्यसैले अहिले चन्द्रमा पञ्चकको अवधिमा छ । आगामी २२ गते १:४६ AM मा चन्द्रमा अश्विनी नक्षत्रमा प्रवेश गरेर पञ्चक सकिँदैछ ।
सरल भाषामा भन्नुपर्दा:
चन्द्रमा लगातार पाँच नक्षत्र (धनिष्ठा देखि रेवतीसम्म) मा यात्रा गर्ने समयलाई पञ्चक भनिन्छ।
परापूर्वकालमा आजको जस्तो आधुनिक घडी वा क्यालेण्डर नभएको कारण, हाम्रा पूर्वजहरूले चन्द्रमाको यस्तै यात्रालाई आधार बनाएर समय गणना गर्ने गर्थे।
यो विधि केवल धार्मिक वा परम्परागत मात्र नभई वैज्ञानिक दृष्टिले पनि सटिक छ।






