विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वभरि १.५ करोड बालबालिकासहित १० करोड जनाभन्दा बढी मानिसले ‘ई-सिगरेट’ सेवन गर्ने गरेको तथ्याङ्क सार्वजनिक गर्दै अहिले निकोटिन दुर्व्यसनको नयाँ प्रकोप फैलिएको चेतावनी दिएको छ।

विश्वभरिको तथ्याङ्कलाई विश्लेषण गर्दै डब्ल्यूएचओले वयस्कभन्दा बालबालिकाले ‘भेप’ प्रयोग गर्ने सम्भावना नौगुना बढी भएको जनाएको छ।
डब्ल्यूएचओका डा एटिएन क्रुगले ‘ई-सिगरेट’का कारण निकोटिन दुर्व्यसनको “नयाँ लहर” फैलिएको बताए। “कम हानि हुन्छ भन्दै तिनको प्रचार गरिन्छ। तर वास्तवमा तिनले बालबालिकालाई निकै चाँडै निकोटिनको कुलतमा फसाउँछन् र दशकौँदेखि भएको प्रगतिलाई प्रभावहीन बनाइदिन्छन्,” उनले भने ।






