काठमाडौँ।

जडिबुटी बसपार्क सञ्चालनसम्बन्धी विवादका क्रममा पूर्व अरनिको यातायातका अध्यक्ष केदार क्षत्रीमाथि आक्रमण भएको छ।
क्षत्रीका अनुसार दुई वर्षअघि सुरु गरिएको बसपार्क सञ्चालन आज पनि विवादरहित छैन। उनले बसपार्क स्थायी रूपमा सञ्चालन गर्ने प्रक्रियामा बागमती प्रदेश सरकारसँग छलफलका लागि हेटौँडा पुगेको र फर्किएर बिहानै जडिबुटी बसपार्कमा पुगेपछि नियोजित समूहबाट आक्रमणमा परेको बताएका छन्।
आक्रमणमा परी घाइते क्षत्री हाल अस्पतालमा उपचाररत छन्। उनले भनेका छन्, “केही आततायी समूहले बसपार्क बन्द गरी गोङ्गबु सार्न खोजिरहेका छन्, यही समूहको योजनामा म आक्रमणमा परेँ।”
क्षत्रीले बसपार्कको व्यवस्थापन र सञ्चालनलाई व्यवस्थित तथा दिगो बनाउने उद्देश्यले आफूले गरेको प्रयासलाई विफल पार्ने नियतले आक्रमण भएको दाबी गरेका छन् ।






