काठमाडौँ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीभित्र फेरि एकपटक विवाद चर्किएको छ । कम्पनीका सहायक विभागीय प्रमुख तथा पूर्व बिक्री वितरण प्रमुख भीमबहादुर थापामाथि पद दुरुपयोग, पहुँचको राजनीति र आर्थिक अनियमितताका आरोप लागेको छ ।
थापा नवौँ तहका कर्मचारी हुँदाहुँदै पनि दशौँ तहका सिनियर कर्मचारीहरूलाई अपमान गर्दै विभागीय प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यक्ति हुन् । मन्त्रालयमा उच्च तहसम्म आफ्नो पैसाको पहुँच बनाउँदै उनले सिनियरहरूलाई पन्छाएर प्रमुखको पदमा निरन्तरता पाइरहेका छन् । विगतमा पनि विवादित बनेका थापाले अकुत आर्जन गरेको उजुरी नै परेको छ ।
कर्णाली प्रदेशका अधिकांश जिल्लामा कार्यरत रहँदा थापाले आफैंलाई निमित्त विभागीय प्रमुख घोषणा गरेर कार्यालय सञ्चालन गरेका थिए । त्यस क्रममा उनले मन्त्रालय र मन्त्रीस्तरीय सहयोगका नाममा स्थानीय कार्यालयहरूमा दादागिरी मच्चाएका थिए ।
अहिले नियमविपरीत कोरिया भ्रमणको तयारी गरेपछि अझ भ्रष्टचार बढेको कर्मचारीहरु बताउँछन् ।
थापा चार सदस्यीय टोलीसहित दक्षिण कोरिया भ्रमणमा जाने तयारीमा छन् । सो भ्रमण कम्पनीकै बजेटमा हुने छ । त्यसका लागि कुनै स्पष्ट उद्देश्य वा मन्त्रालयको स्वीकृति भएको छैन । कर्मचारीहरूका अनुसार, यो भ्रमण मोजमस्ती र भत्ताको खेल मात्र हो । लगानीकर्तासमेत विवादित व्यक्तिहरु रहेको थापाले नजिककाहरुसँग बताउने गरेका छन् ।
थापा भन्दा सिनियर तहका अधिकारीहरूलाई उनले अपमान गर्ने शैली र पहुँचको राजनीतिले कम्पनीभित्र असन्तोष बढाएको छ । उनका कारण कतिपय कर्मचारीहरू काम गर्न हतोत्साहित र असहज महसुस गरिरहेका छन् । थापाले आफू अनुकूलका व्यक्तिलाई जिम्मेवारी दिने र असहमतहरूलाई पेल्ने गरेको उजुरी मन्त्रालयमा पनि छ ।
व्यापार कम्पनीभित्र थापाले कार्यकारी अधिकृतसँग मिलेर ब्रह्मलुट मच्चाएको आरोप मन्त्रालयसम्म पुगेको छ । दुबै जनाले बिक्री वितरण र गोदाम व्यवस्थापनका काममा आर्थिक अनियमितता र मनपरी निर्णय गरेका भन्दै कम्पनीभित्र चर्चा छ ।
थापाको हालको असामान्य सम्पत्ति र जीवनशैली मन्त्रालयमै छलफलको विषय बनेको छ । काठमाडौँमा उनको अलिशान बंगला र आर्थिक स्रोतको बारेमा खोजी गर्ने हो भने भ्रष्टचारी पुष्टि हुने एक अधिकृतले बताए ।
राज्य स्वामित्वको संवेदनशील निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा पैसाको पहुँच, पदको राजनीति र प्रशासनिक मनपरी क्रमशः गहिरिँदै गएकोमा चिन्ता गर्ने केही कर्मचारीहरु छन् । तर, उनीहरुलाई भीमबहादुर थापा जस्ता अधिकारीले टिक्न नदिने चलन नै छ ।
मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता प्रकरणमा निष्पक्ष छानबिन गरी कडाइका साथ कारबाही गरोस् भन्ने कर्मचारीहरु पनि छन् तर, उनीहरुको स्वर मलिन छ ।






