पर्सा ।

जिल्ला प्रहरी कार्यालय पर्साले करिब १२ लाख रुपैयाँ बराबरको अवैध पटका तथा विष्फोटक पदार्थ नष्ट गरेको छ।
जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरी टोलीहरूले चलाएका चेकजाँचका क्रममा अन्दाजी आठ लाख बराबरका अवैध पटका बरामद गर्न सफल भएका थिए। तिहार पर्व नजिकिँदै गर्दा सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै यी सामग्रीहरू नियन्त्रणमा लिइएका हुन्।
बरामद गरिएका पटका तथा विष्फोटक सामग्रीहरू २०८२/०७/०१ गते स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय पर्साको प्रांगणमा नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, विस्फोटक प्रकृतिका पटका बालबालिका र सर्वसाधारणका लागि जोखिमपूर्ण हुने भएकाले यस्तो कारोबार र प्रयोगमा संलग्न हुने विरुद्ध कडा कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले सुरक्षाकर्मीहरूलाई अझ सतर्क रहन निर्देशन दिँदै जनस्वास्थ्य र सुरक्षालाई खतरामा पार्ने कुनै पनि गतिविधि सह्य नहुने बताएका छन्।
साथै, प्रहरीले तिहार पर्वलाई सुरक्षित, सभ्य र शान्त बनाउन स्थानीयवासीहरूलाई अवैध पटका प्रयोग नगर्न र नियन्त्रण अभियानमा सहयोग गर्न आग्रह गरेको छ।






