चाँगुनरायण नगरपालिका–२ मा सञ्चालन हुँदै आएको ‘समुदायका लागि २ घण्टा’ अभियानले १३० हप्ता पूरा गरेको छ। प्राज्ञ आदर्श समाजद्वारा सुरु गरिएको यो अभियान अहिले वडा नं. २ ले संयोजन गर्दै आएको हो। स्वयंसेवकहरूको सक्रियतामा सञ्चालन हुने यस अभियानले वातावरण संरक्षणदेखि सामाजिक विकाससम्मका विविध क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ।

हरेक शुक्रबार बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने यो अभियानअन्तर्गत सडक, गल्ली, मठ–मन्दिर, टोल र सार्वजनिक स्थलमा सरसफाइ, वृक्षारोपण, रक्तदान, सडक सुरक्षा र जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
वडा अध्यक्ष सोमप्रसाद प्रधानका अनुसार अभियानले वडाभित्रका सार्वजनिक स्थलमा डस्टबिन जडान, आवश्यक स्थानमा निःशुल्क डस्टबिन वितरण, र सिसिटिभीमार्फत निगरानीको व्यवस्था समेत गरेको छ। “स्थानीय सरोकारवालासँग निरन्तर संवाद र अन्तर्क्रिया गर्दै अभियानलाई अझ सबल बनाउने हाम्रो योजना छ,” अध्यक्ष प्रधानले बताए।
पूर्व वडाअध्यक्ष शिवहरि केसीका अनुसार, १३० हप्तासम्म अभियानलाई निरन्तरता दिन विद्यालय, दुवाकोट स्वास्थ्य चौकी, नेपाल रेडक्रस सोसाइटी, नेप्सेम्याक, दुवाकोट प्रहरी प्रभाग, सहकारी, टोल सुधार समितिहरू र स्थानीय समाजसेवीहरूको महत्वपूर्ण भूमिका रहेको छ।
त्यसैगरी, प्राज्ञ आदर्श समाजका अध्यक्ष नवराज काफ्लेले १०० औं हप्तापछि अभियानले जनचेतना अभिवृद्धिमा विशेष जोड दिएको बताए। उनका अनुसार, “विद्यार्थीहरूलाई वातावरणीय सचेतना र व्यवहारिक सरसफाइका अभ्यासमा सहभागी गराउँदै अभियानले विद्यालयस्तरमै स्वच्छताको संस्कार विकास गर्न खोजेको छ।”
दिपावलीजस्तो पर्वमा पनि यो अभियान रोकिएन। घरमै रमाउने दिनमा सयौं स्थानीयको सहभागितामा १३० औं हप्ताको सरसफाइ कार्यक्रम पाथिभराटोलमा सम्पन्न गरिएको हो। सो अवसरमा टोल सुधार समितिका अध्यक्ष हेमकर्ण तिमल्सिनालाई फोहोर व्यवस्थापनका लागि डस्टबिन हस्तान्तरण गरिएको पूर्व जनप्रतिनिधि मोहन पौडेलले जानकारी दिए।
कार्यक्रममा जनप्रतिनिधि उमेश प्रधान, प्रेम खत्री, नेप्सेम्याकका संयोजक गोविन्द प्रसाद आचार्य, रेडक्रस उपशाखा, दुवाकोट प्रहरी प्रभाग, पत्रकार होमनाथ कट्टेल, त्रीपुरा न्यूज का सम्पादक विकास प्रहर, टोल सुधार समितिका प्रतिनिधि र अन्य सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
टोल सुधार समितिका अध्यक्ष तिमल्सिनाले सम्पूर्ण सहयोगी पक्षलाई धन्यवाद दिँदै भने,“समृद्ध चाँगुनरायण निर्माण हाम्रो साझा लक्ष्य हो। नगरपालिकाले ल्याएको टोल सुधार समितिको अवधारणालाई व्यवहारमा उतार्न हामी अहोरात्र लागिपर्नेछौं।”






