मेलम्ची ।

पाँचपोखरी थाङपाल गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरूका प्रतिनिधिहरूका लागि सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली कार्यान्वयन र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ। तीनदिने उक्त तालिम २०८२ साल कार्तिक १० देखि १२ गतेसम्म गाउँपालिकाको सभाहलमा आयोजना गरिएको थियो।
कार्यक्रमको सहजीकरण नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत नवीनराज दाहाल र गाउँपालिकाका रोजगार संयोजक तथा सहकारी फोकल पर्सन ध्रुवप्रसाद लामिछानेले गरेका थिए ।
उद्घाटन सत्रमा गाउँपालिकाका अध्यक्ष टासी लामाले सहकारी संस्थाहरू गाउँ विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सहकारी अभियानलाई नमुनात्मक र पारदर्शी ढंगले अघि बढाउन आग्रह गरे । गाउँपालिकाले सहकारी क्षेत्रका नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको अध्यक्षले बताए ।
त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले सहकारी संस्थाहरूले विद्यमान कानुन र मापदण्डअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । सहकारी सञ्चालनमा देखिने चुनौती समाधानका लागि गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने आश्वासन पनि कुइकेलको थियो ।
तालिममा सहभागीहरूलाई सहकारी व्यवस्थापन सूचना प्रणालीको प्रयोग, सम्पत्ति शुद्धिकरण प्रतिवेदनको प्रक्रिया र सहकारी सुशासनका उपायहरूबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमले गाउँपालिकाभित्रका सहकारी संस्थाहरूलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।






