चौतारा । सिन्धुपाल्चोकको धार्मिक,ऐतिहासिक एवम् पर्यटकीय रुपमा चर्चित गौराती भीमसेन मेला सुरु भएको छ ।

सदरमुकाम चौताराबाट चार किमी उत्तरपश्चिममा पर्ने चौतारा नगरपालिका–२ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको समेत सुविधा छ । चौताराको पुरानो बजारस्थित गुठी घरबाट भीमसेनको मूर्तीलाई रथमा लगी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराइएपछि एकादशीको दिन पुनः फर्काइन्छ ।
पौराणिक कालमा जङ्गल रहेको सो डाँडामा गोठालाले खर्क राखी गाई चराउने गर्थे । गाईले राति राति एउटा ढिस्कामा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नाका साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्तध्र्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता छ ।
‘गौ’ अर्थात् गाईले राति दूध चढाएको कारण गौराती र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको भनाइ छ । धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणका रुपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवरले सो मन्दिरमा विसं १६४२ मा चढाएको ढलोटको घण्टका आधारमा ४३० वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ ।
मन्दिरमा मेला अवधिभर हजारौँ पशुपक्षीको बलि चढाउने गरिएको मन्दिरको पुजारीको कथन छ । मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्वार गरिँदै आए पनि विसं २०५३ मा पुनःनिर्माण गरी तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भस्मृतिको अनावरण भएको थियो । समुद्री सतहबाट एक हजार ८२८ मिको उचाइमा रहेको मनोरम डाँडाबाट मनोरम दृष्य अवलोकनका साथै जुगल हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिन्छ । वीरेन्द्रऐश्वर्यबाट रोपिएको रुद्राक्षको बोटलाई स्थानीयवासीले चिनोका रुपमा लिने गरेका छन् ।






