सिन्धुपाल्चोक ।

भोटेकोशी गाउँपालिकामा कृषिका लागि विनियोजन गरिएको बजेट नेताहरू र टाठाबाठाहरूको हातमा परेको खुलासा भएको छ । गाउँमा रहेका वास्तविक कृषकहरूका लागि प्रयोग हुनुपर्ने अनुदान रकम वर्षेनि राजनीतिक पहुँच र शक्तिका आधारमा बाँडिने गरेको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीय स्रोतका अनुसार भोटेकोशी गाउँपालिकाले हरेक वर्ष झण्डै तीन करोड रुपैयाँ कृषि विकासका लागि छुट्याउने गर्छ । तर, उक्त रकम गाउँपालिकामा प्रभावशाली नेपाली काँग्रेसका नेताहरू, पूर्व जनप्रतिनिधि र कार्यकर्ताले विभिन्न नाममा परियोजना तयार गरी आत्मसात् गर्ने गरेको पाइएको छ ।
गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बाहुल्य रहेकोले बजेट वितरणमा पनि सोही दलका नेताहरूको पकड देखिएको छ । काँग्रेसका जिल्लास्तरीय नेतादेखि वडाअध्यक्ष भइसकेका व्यक्तिहरूले ‘कागजी परियोजना’ बनाएर बजेट झ्वाम पार्ने गरेको गाउँका किसानहरू बताउँछन् ।
स्थानीय कृषक नोर्वू ठिलेनका अनुसार वास्तविक किसानले अनुदानका लागि आग्रह गर्दा “पैसा सकियो” भन्दै अपमानजनक व्यवहार गरिन्छ । “काँग्रेसमा नलागेकै कारण मलाई सहयोग दिइएन, माथिल्लो निकायमा सिफारिस समेत गरिएन ,” उनले बताए । उनका अनुसार काठमाडौँमा महल हुनेहरुले कृषिफर्म,बाख्रा पालन,कुखुरा पालनको नाममा रकम लिएका छन् । कर्मचारीलाई पनि कमिसन दिएर उनीहरले मस्ती गरिरहेको उनको आरोप छ ।
गाउँपालिकाका अध्यक्ष पासगनोर्बू शेर्पामाथि पनि विवादका लहरहरू उर्लिएका छन् । काठमाडौँस्थित एक सहकारीको रकम अवचलन प्रकरणमा मुछिएका उनी हाल कृषि तथा विकास परियोजनाको नाममा बजेट ‘खल्तीमा हाल्ने’ आरोपमा चर्चामा छन् ।
यसबाहेक, गाउँपालिकाको ठेक्का व्यवस्थापनमा समेत अनियमितता भएको स्थानीयको आरोप छ । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्षसँगको मिलेमतोमा विनाप्रतिस्पर्धा ठेक्का वितरण गरिँदै आएको र त्यसबाट ठूलो मात्रामा कमिसन असुली हुने गरेको जनगुनासो छ ।
स्थानीयहरूले पालिकामा भइरहेका यस्ता आर्थिक अनियमितता र राजनीतिक दुरुपयोगको छानबिन गरी दोषीमाथि कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
-पासङ्ग दोर्जे शेर्पाबाट






