सिन्धुपाल्चोक । जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा सुनकोशी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै ७९.४ अंक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ।
जिल्ला भित्रका स्थानीय तहहरूबीच भएको स्वास्थ्य सेवा मूल्याङ्कनमा सुनकोशी गाउँपालिकाको यो उपलब्धिलाई उल्लेखनीय मानिएको छ। गाउँपालिकाको यो सफलताको श्रेय गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, जनस्वास्थ्य कार्यालय परिवार, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण सरोकारवालाहरूलाई दिइएको छ।

समीक्षामा सहभागी स्वास्थ्यकर्मीहरूले अहोरात्र सेवा प्रवाहमा खटिएर गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाएको भन्दै उनीहरूलाई विशेष धन्यवाद र हार्दिक बधाई दिइएको छ।
गाउँपालिका अध्यक्ष टेपेन्द्र तिमल्सिनाले उपलब्धिलाई जनताको स्वास्थ्यप्रतिको प्रतिबद्धता र सामूहिक प्रयासको परिणाम भएको बताएका छन्। उनले आगामी दिनमा अझ सबल, सक्षम र उत्कृष्ट स्वास्थ्य सेवा विस्तारमा लाग्ने प्रतिवद्धता व्यक्त गरे।
जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरूले पनि गाउँपालिकाले देखाएको सुधार र समर्पणले जिल्लाभरका अन्य स्थानीय तहका लागि उदाहरण बनेको टिप्पणी गरेका छन्।
सुनकोशी गाउँपालिकाको यो उपलब्धिले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।






