‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ भन्ने मुल नारासहित २१ औँ राष्ट्रिय कफी दिवस–२०८२ भव्य कार्यक्रम सहित सम्पन्न गरिएको छ ।

समारोहमा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले कफी खेतीले ग्रामीण अर्थतन्त्र मजबुत बनाउने विश्वास रहेको बताउदै कफी दिवसको शुभकामना दिए, साथै उनले विश्व बजारमा कफीको माग उच्च रहेको बताउदै नेपालमा पनि यसको खेती र बजार बढ्दै जादा सरकारले पनि यसमा लगानी गर्दै आएको र विशेष गरि पहाडी जिल्लाहरूमा यसको सम्भावना धेरै रहेकोले किसानहरूलाई कफी खेती तर्फ आकर्षण गर्नुपर्ने धारण व्यक्त गरे ।
सो क्रममा विभिन्न प्रकारका कफी बनाउने तरिकाहरू बारेमा विस्तृत डेमोन्स्ट्रेसन प्रस्तुत गरिएको थियो । कफीको गुणस्तर, रोस्टिङ प्रक्रिया, स्वाद पहिचान र सही प्रविधिबारे सहभागीलाई व्यावहारिक रुपमा प्रदर्शन गरिएको थियो, जसले कार्यक्रममा थप आकर्षण भरेको सहभागीहरूले महसुस गरेका छन् ।त्यसैगरी, अरनिको रिसोर्टका सञ्चालक दिपेन्द्र घलेले आफ्नो भनाइ राख्दै भने, “हाम्रो क्षेत्र कफी उत्पादनका लागि निकै सम्भावनायुक्त छ ।
किसानलाई प्रविधि, तालिम र बजार सुनिश्चितता प्रदान गर्न सके कफीले यहाँको आर्थिक रूपान्तरणमा ठूलो योगदान दिन्छ।” साथै उनले विश्व बजारमा गुणस्तरीय कफीको माग बढ्दै गएको तर प्रविधि प्रशिक्षण,आधुनिक प्रविधिको अभाव, कफी खेती र प्रशोधन सम्बन्धि ज्ञानको कमी रहदा कफीको माग पुरा हुन नसकेको बताए ।
कार्यक्रमको आयोजना अरनिको एग्रो फर्मले गरेको हो। कफी उत्पादन, प्रशोधन, बजार विस्तार तथा कफी संस्कृतिको विकासमा आधारित छलफलसहित सम्पन्न यो कार्यक्रम किसान तथा स्थानीय समुदायका लागि अत्यन्त उपयोगी बनेको आयोजकले जनाएको छ ।






