चौतारा साँगाचोकगढी नगरपालिका–७ मा करिब ५० मिटर लम्बाइको सीडी (ढुंगाको भर्याङ) निर्माण कार्य सम्पन्न भएको छ। स्थानीय बासिन्दाको जनसहभागिता र वडाको सहयोगमा सम्पन्न यो परियोजनाले वर्षौंदेखि समस्या बनेको आवागमन सहज हुने भएकाे छ।

वडाबाट करिब रु. १ लाख ५० हजार बजेट विनियोजन भएको उक्त सीडी निर्माणमा स्थानीय जनश्रमदान उल्लेख्य रहेको वडाले जनाएको छ।
२०७२ सालको विनाशकारी भूकम्पपछि आवतजावत गर्नसमेत कठिन बनेको बाटो स्तरोन्नति भएपछि स्थानीयहरू खुशी भएका छन्। स्थानीय बासिन्दा जितबहादुर तमाङले, “हिँड्नसमेत असजिलो पर्ने बाटो अहिले सुरक्षित र सहज भएको छ, निकै खुसी लागेको छ,” भने।
वडा अध्यक्ष डम्बर बहादुर तमाङले वडा–७ का सबै वस्तिहरूमा साना–ठूला तथा गोरेटो सडकहरूको निर्माण र स्तरोन्नति आफ्नो कार्यकालमै पूरा गर्ने लक्ष्य रहेको बताए।






