चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा फरेष्टएक्सन नेपालको सहयोग र नगरपालिकाको आयोजनामा विपद् व्यवस्थापन तथा डढेलो न्युनिकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख कृष्णप्रसाद सापकोटाले विपद् सदैव जनजीवनसँग जोडिएको हुनाले नगरपालिकाले विपद् न्यूनीकरणमा निरन्तर सहयोग र सहभागिता जनाउँदै आएको बताए।

उपप्रमुख सीता थापाले नगरका विभिन्न वडामा डढेलो नियन्त्रण र न्युनिकरणका लागि रिजर्भ पोखरी निर्माण गरिएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता पूर्वाधार विस्तार गरिने बताइन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले बजेट खर्च मात्र होइन, योजनाआधारित कामलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नगर वन उपभोक्ता महासंघका अध्यक्ष ऋषिराम नेपालले डढेलो नियन्त्रणमा स्थानीय सरोकारवालाको सहयोग अभाव रहेको उल्लेख गर्दै “गाउँलेले जानिजानी आगो लगाउने, थाहा पाए पनि समयमै सूचना नदिने चुनौती अझै कायम छ,” भने।
कार्यक्रममा फरेष्टएक्सन नेपालका मदन बस्याल तथा वन मन्त्रालयका अधिकृतले डढेलो नियन्त्रण सामग्री, सुरक्षा उपकरण र वन सुरक्षाका लागि आवश्यक उपायबारेमा प्रस्तुति दिएका थिए।






