चौतारा ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले उद्यमी, व्यवसायी तथा सरोकारवालासँग व्यवसायिक अन्तरक्रिया गर्दै जिल्लामा भर्खरै आएका विभिन्न सरकारी कार्यालय प्रमुखहरूलाई स्वागत गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं सल्लाहकार समितिका अध्यक्ष बेदबहादुर श्रेष्ठले सिन्धुपाल्चोकको कृषि तथा पर्यटन विकासलाई प्राथमिकता दिन सकेमात्र अर्थतन्त्र सबल भई आत्मनिर्भरताको दिशामा अघि बढ्न सक्ने बताए।
उनले जिल्लाको लाइफलाइन मानिने तातोपानी नाका व्यवस्थित सञ्चालनका लागि सरकार गम्भीर हुनुपर्नेको उल्लेख गर्दै चीनसँग आवश्यक समन्वय अविलम्ब गर्न आग्रह गरे। जनवरी १५ बाट नाका बन्द हुने हल्लाले व्यवसायीहरूमा निराशा बढेको भन्दै सरकारले बेलैमा विश्वसनीय वातावरण बनाउनुपर्ने उनले सुझाए।
अन्तरक्रियामा सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले राज्यको आर्थिक मेरुदण्ड उद्योग–व्यवसाय नै भएको उल्लेख गर्दै प्रशासन व्यवसायीका समस्या समाधानमा सदैव तयार रहने प्रतिवद्धता व्यक्त गरे।
मालपोत कार्यालय प्रमुख लोकबहादुर भण्डारीले भू–सम्बन्धी सल्लाह–सुझावका लागि सधैं उपलब्ध रहने बताए।
उद्योग तथा बाणिज्य कार्यालय प्रमुख त्रिपुरारी बखरेलले संघसँगको सतत् समन्वयले कार्यालयको सेवाप्रवाह सुदृढ बन्न सहयोग गर्ने धारणा राखे। व्यवसायीले उठाएको कानुनी जटिलता तथा दोहोरो करका विषयमा उनले प्रदेशको ऐनअनुसार काम गर्दा सहज हुने बताए।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दीपक अर्यालले संघले विगतमा देखाएको प्रभावशील भूमिका कायम राख्दै नीजि क्षेत्रको अग्रपंक्तिका रूपमै काम गर्न सुझाव दिए।
कार्यक्रममा भर्खरै जिल्लामा आएका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, इन्द्रध्वज गणका प्रमुख सेनानी अदित श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालयका उप–अनुसन्धान निर्देशक सुवास कार्की र मालपोत अधिकृत लोकबहादुर भण्डारी लाई स्वागत गरिएको थियो ।
उनीहरूलाई संघको लोगो अंकित खादा तथा सिन्धुपाल्चोकका धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थलहरू अंकित मायाको चिनो प्रदान गरिएको संघका सचिव तिर्थराज पौडेलले जानकारी दिए।
कार्यक्रममा संघका उपाध्यक्ष उजारसिं तामाङले स्वागत मन्तव्य राखेका थिए।
महासचिव ईश्वर गुभाजूले उद्योग–व्यवसायसम्बन्धी कठिनाइ वा जटिलता परे संघमा मौखिक वा लिखित निवेदन गर्न व्यवसायीलाई आग्रह गरे।
अध्यक्ष बुद्धराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमलगत्तै बसेको कार्यसमितिको बैठकले संघका सदस्य कुमार थापाका दिवंगत माता चुना कुमारी थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने निर्णय गरेको तथा पौष महिनामा साधारण सभा गर्ने र संघका आगामी गतिविधि चुस्त बनाउन आवश्यक निर्णय गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।






