काठमाडौँ ।

सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा अनियमितता गरेर लखेटिएका एक अधिकृत धादिङको स्थानीय तहमा पुगेका छन् । क्रसर र अतिरिक्त आम्दानी हुने ठाउँमा पालैपालो मस्ती मारेका कर्मचारी सङ्केत नम्बर १७४१९१ का नेपाल सरकारका अधिकृत पूर्णप्रसाद दुलाल यस अघि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका बाट लखेटिएका थिए । क्रसर र अन्य आम्दानीको रकममा कर्के नजर लगाएपछि उनलाई मन्त्रालय तानिएको थियो । सालतमामीको बेला उनी रातारात मन्त्रालय तानिएका थिए । मन्त्रालय बसेर सेटिङ्ग मिलाउँदै उनी धादिङको गल्छी गाउँपालिका पुगेका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पिआईएस हेर्दा दुलाल सम्पर्क गरेर हेर्दा त्यस्ता धेरै कर्मचारी उनीहरूकै भाषामा भनिने ‘मालदार अड्डा’ मात्र बस्ने गरेको भेटिएको छ । पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको कार्यकारी अधिकृत रहेका पूर्णप्रसाद दुलालले ०५७ साउनदेखि जागिर खाएका रहेछन् । सुरु नियुक्ति निर्वाचन कार्यालय रसुवामा लिएका उनले कहिल्यै पनि सुगम बाहेकका स्थानमा काम गर्नुपरेको देखिएन । २५ वर्षको जागिरे अवधिमा कर्मचारीकै भाषामा भनिने ‘मालदार अड्डा’ स्थानीय निकायको प्रमुख मात्र भएर काम गरेको देखिएको छ । काभ्रेपलान्चोक स्थायी घर भएका दुलालले सिन्धुपाल्चोकका स्थानीय तहको धेरै स्वाद चाखेको देखियो । पछिल्लो पटक २०८० जेठ १४ मा इन्द्रावती गाउँपालिका पुगेका दुलाल सिन्धुपाल्चोककै सुनकोसी गाउँपालिकाबाट इन्द्रावती पुगेका हुन् । २०७९ असारमा सुनकोशी गाउँपालिकामा पुगेका दुलाल २०७५ साउन १५ गते सिन्धुपाल्चोककै लिसंखुपाखर गाउँपालिकामा थिए । त्यसअघि थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका दुलाललाई त्यहाँबाट भ्रष्टाचारको आरोपमा लखेटिएको थियो । त्यसअघि सिन्धुपाल्चोककै मेलम्ची नगरपालिकामा राप तृतीय श्रेणी नै भए पनि कार्यकारी अधिकृतकै रूपमा पुगेका थिए । त्यसअघि जिल्ला विकास समिति ललितपुर,जिल्ला विकास समिति चितवन,,संघीय मामिला मन्त्रालय काठमाडौँमा गरेर १६ पटक सरुवामा परेका छन् । तर, विकट भनिने कुनै पनि ठाउँमा उनी पुग्न परेको छैन । राष्ट्रिय कितावखाना बाट लिइएको विवरण अनुसार जागिरे जीवनकै बीच उनले स्नातकोत्तरसम्मको अध्ययन गरिसकेका छन् ।
निजामती ऐन २०४९ को दफा १८ को उपदफा ३ बमोजिम (क) र (ख) वर्गको भौगोलिक क्षेत्रका स्थानीय तहमा न्यूनतम सेवा अवधि पुरा गरेका प्रमुख प्रशासकीय अधिकृतलाई निजको माग बमोजिम अन्य स्थानीय तह वा अन्य मन्त्रालयमा वा आयोग तथा मातहतको निकायमा सरुवा गर्न मिल्ने कानुनी आधार छ । तर, दुलालको हकमा कहिल्यै यो लागू भएको छैन ।
किन राम्रो ठाउँ पाए ?
दुलाल काभ्रेपलान्चोक जिल्ला पाँचखालमा जन्मिएका हुन् । उनी आफूलाई नेकपा एमालेको होनहार कार्यकर्ता ठान्छन् । त्यसो त उनी जति पनि स्थानीय तहमा पुगे त्यहाँ एमालेका तर्फबाट मात्र जितेका अध्यक्षहरू थिए । आफूलाई गोकुल बाँस्कोटाको खाटी मान्छे हुँ भन्दै हिड्ने दुलालले उनकै नाम बेचेर दुर्गममा भएका सरुवा पनि रोक्दै आएका छन् । जागिर छोडेर पाँचखालको मेयर उठ्ने बताउँदै उनले एमालेका जनप्रतिनिधिलाई थर्काउने गरेका छन् । त्यसो त आर्थिक मिलानमा पनि माहिर दुलाले जुन पालिका पुगे पनि अध्यक्षलाई हातमा लिने गरेका छन् । बैशाखसम्म कुनै शीर्षकमा भएको वजेट असार लागेपछि सकिएको हुन्छ,पछि हेर्दै जाँदा उनैले आफन्तहरूको नाममा कम्पनी बनाएर रकम असुल गर्ने गरेको उनीसँगै काम गरेका एक पत्रकारले बताए । त्यसरी आएको रकम अध्यक्ष र लेखापाललाई मिलाएको ती पत्रकारको भनाई छ ।
घर पायक तथा काठमाडौँ भन्दा बाहिर नजानुमा उनको आफ्नो व्यवसाय पनि भएको बताउने गरेका छन् । घरजग्गाको कारोबार गरेको बताउने दुलाले भ्रष्टाचार बापत आर्जन गरेका रकम घरजग्गाको काम गरेर आएको बताउने गरेका छन् । एउटा सरकारी कर्मचारीको आर्थिक अवस्था देखेर अहिले पाँचखालका उनका आफन्त पनि जिभ्रो टोक्ने गरेका छन् । उनको अकुत सम्पत्तिका विरुद्ध सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।






