ल्हासा ।

ल्हासा स्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिचाङ स्वायत्त प्रदेशका अध्यागमन विभागका महानिर्देशक वाङ सि होङ बीच महावाणिज्यदूतावासको कार्यालयमा २०८२ पुस १५ गते भेटघाट सम्पन्न भयो । भेटका अवसरमा महावाणिज्यदूत निरौलाले महानिर्देशक वाङलाइ महावाणिज्यदूतावासमा स्वागत गर्दै सिचाङ अध्यागमन विभागका तर्फबाट महावाणिज्यदूतावासलाइ हालसम्म पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नु भयो ।
उक्त अवसरमा वहाँले गत असारमा ल्हेन्दे खोलामा गएको बाढीका कारण क्षतिग्रस्त भएको भोटेकोशी नदीको मितेरी पुलको निर्माण कार्य सम्पन्न गरी यही पुस महिनाको १७ गतेदेखि रसुवा नाकाबाट आयात निर्यात शुरु गर्न लागेकोमा चीन सरकार र सिचाङ अध्यागमन विभागलाई नेपालका तर्फबाट धन्यवाद दिंदै यसले नेपाल चीन संबन्धमा थप बल पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।
सो अवसरमा महानिर्देशक वाङले महावाणिज्यदूतावासको कार्यको प्रशंसा गर्दै नेपाल चीन बीचको ऐतिहासिक संबन्धले हाम्रा दुई देशबीचको संबन्ध बलियो बनाएको छ भन्नु भयो । वहाँले महावाणिज्यदूतावास र आफ्नो विभाग मिली विगतमा धेरै काम गरेको बताउँदै नेपाललाई सहयोग पुर्याउन आफू सधैं तयार रहेको बताउनु भयो ।
नेपाल चीन संबन्धका विविध विषयमा छलफल भएको उक्त भेटका अवसरमा दुइ देशबीचका सबै सीमा नाकाहरुलाई दुबै पक्ष मिली व्यवस्थित गर्ने, नाकाहरुमा हुने आयात निर्यात र मानव आवतजावतमा सहजीकरण गर्नै, सुरक्षा व्यवस्था थप बलियो बनाउने, दुई देशका अधिकारीहरुबीच संबन्ध अझ सुदृढ बनाउँदै एक अर्का देशबीच भ्रमण टोली आदान प्रदान गर्ने र एक आपसका कार्यहरुमा सहयोग पुर्याउने समझदारी भएको छ ।






