सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले अवैध हतियारसहित कालीज शिकारीहरु पक्राउ गरेको छ । सदमुकाम चौतारा आसपासमा बस्ने आकाश बागदास समूहका मानिसहरू कालीज शिकार गर्न जंगल गएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार २०८२ पुष १४ गते बेलुकीको समयमा आकाश बागदास समूहका मानिसहरू कालीज शिकार गर्न जंगलमा गएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली खटाइएको थियो। खोजतलासको क्रममा सोही दिन राति करिब ९ बजेको समयमा राम श्रेष्ठ तथा भोलिपल्ट आकाश बागदास र हरि श्रेष्ठलाई पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित खहरे खोला आसपास लुकाइछिपाइ राखिएको अवस्थामा लोड गरिएको एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरीले जनाएको छ।
हाल पक्राउ परेका व्यक्तिहरूमाथि हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।






