नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) पदमा कार्यरत १० जनालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्ने निर्णय भएको छ ।

बढुवाका लागि प्रतिस्पर्धामा रहेका १६ जना प्रहरी उपरीक्षकहरूमध्ये १० जनाको नाम सिफारिस गरिएको हो। बढुवा सूचीको पहिलो नम्बरमा नेपाल प्रहरी सुरक्षा गण महेन्द्रनगरमा कार्यरत रामप्रकाश शाह रहेका छन् भने अन्तिम नम्बरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत सुवाष चन्द्र बोहरा रहेका छन्।
अन्तरिम सरकारले सुशासन र पारदर्शिताको कुरा गरिरहेकै समयमा प्रहरी बढुवामा भने त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको आरोप लागेको छ। प्रतिस्पर्धामा अगाडि रहेका प्रजित केसी र बासुदेव खतिवडा, अमरेन्द्र बहादुर सिंहलाई बढुवाबाट बाहिर राखिएको छ। त्यस्तै, प्रतिस्पर्धामा अगाडि भए पनि राजकुमार सिलवाल पनि यसपटक बढुवा सूचीमा समावेश हुन सकेनन्।
प्रहरी संगठनभित्र बढुवा प्रक्रियाको निष्पक्षता र पारदर्शिताबारे प्रश्न उठ्न थालेका छन्।






