सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरी भर्ना अन्तर्गत दरखास्त दिने म्याद थप गरिएको छ।
“निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा सञ्चालन गर्ने सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि–२०८२” बमोजिम यसअघि प्रकाशित सूचना अनुसार निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको थियो। सोही क्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको संयोजकत्वमा बसेको निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समितिको बैठकको निर्णयअनुसार दरखास्त दिने समयावधि २ (दुई) दिन थप गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार अब निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त दिने अन्तिम म्याद २०८२ साल फागुन ३ गतेसम्म कायम गरिएको छ। साथै, निर्वाचन प्रहरी छनोटका लागि सम्पर्क मिति २०८२ साल फागुन ४ गते तोकिएको छ।
निर्वाचन सुरक्षामा सहभागी हुन इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूलाई तोकिएको म्यादभित्र आवश्यक कागजातसहित दरखास्त दिन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ।







