सिन्धुपाल्चोक ।

आगामी फागुनमा हुने निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्लामा तयारी तीव्र भइरहेको छ । जिल्ला निर्वाचन कार्यालयले प्रशासनिक तथा प्राविधिक कार्यसूची निर्धारण गर्दै अधिकांश तयारी पूरा भएको जनाएको हो ।
सोमबार सञ्चारकर्मीहरूसँग गरिएको छलफलमा निर्वाचनसँग सम्बन्धित अधिकारीहरूले मतदाता शिक्षा, मतदान केन्द्र व्यवस्थापन, सुरक्षा समन्वय, मनोनयन प्रक्रिया र सामग्री व्यवस्थापनबारे जानकारी दिए । छलफलमा सहभागी अधिकारीहरूले निर्वाचनको सम्पूर्ण प्रक्रिया समयमै अघि बढिरहेको र स्थानीय निकाय, सुरक्षाकर्मी तथा केन्द्रीय संरचनासँग समन्वय पनि भइरहेको बताए ।
मंगलबार हुने मनोनयन दर्ताका लागि निर्वाचन आयोगले तालिका सार्वजनिक गरिसकेको छ । मनोनयन दर्ताको समय, कागजी आवश्यकताहरू, जमानत रकम, उम्मेदवार परिचय समेत रहने कार्यसूची आयोगले जानकारी गराएको जनाएको छ । आयोगका अनुसार मनोनयन दर्ता सकिएपछि मनोनयन पत्रको प्रारम्भिक सूची प्रकाशित हुनेछ ।
मतदान केन्द्र तथा स्थल व्यवस्थापनका लागि जिल्लाभरका पालिका र वडास्तरबाट प्राप्त सुझावहरू संकलन भइसकेको छ । केही ठाउँमा भौगोलिक जटिलता र पहुँचका चुनौती हुने भएकाले सुरक्षासँगै यातायात व्यवस्थापनमा विशेष ध्यान दिने तयारी प्रहरीले जनाएको छ ।
यसैबीच निर्वाचन प्रचार पनि दलहरूबीच तीव्र हुँदै जाने संकेत देखिएको छ । मनोनयन दर्तासँगै उम्मेदवारको टुंगो लागेपछि दलगत समीकरण,स्वतन्त्र उम्मेदवार र स्थानीय प्रभावहरू पनि खुल्न थाल्ने छन् । मतदाता परिचालनदेखि प्रचार सामग्री, बहस र एजेन्डाको प्रतिस्पर्धासम्मको वातावरण आगामी केही दिनमा झनै चर्किन सक्ने छ ।
जिल्ला निर्वाचन कार्यालयका अधिकारीहरूले जनाएअनुसार निर्वाचन सम्बन्धी सूचना, निर्देशन र सेवा प्रवाहका लागि छुट्टै हेल्पडेस्क सञ्चालन गरिएको छ । आयोगले मतदाता शिक्षा तथा सामान्य नागरिकलाई आवश्यक पर्ने सूचनालाई प्राथमिकताका साथ सार्वजनिक गर्ने बताएको छ ।






