सिन्धुपाल्चोक ।

जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ मा संघीय निर्वाचनको माहोल तीव्ररूपमा अघि बढिरहेको छ । प्रमुख राजनीतिक दलसहित नयाँ दलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेसँगै निर्वाचनको प्रतिस्पर्धा र नतिजाबारे अड्कल सुरु भएको छ ।
अघिल्लो निर्वाचनमा गठबन्धनसहित उत्रिएका दलहरू यसपटक भने एकल रूपमा चुनावमा होमिएपछि समीकरण बदलिएको छ । यस क्षेत्रबाट नेकपा (एमाले)का तर्फबाट सरेश नेपाल, नेपाली कांग्रेसका तर्फबाट जंगबहादुर लामा, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पूर्व सांसद माधव सापकोटा, र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट भरतप्रसाद पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् ।
पुराना दलहरूका आधारमा नयाँ दल रास्वपाले मत कटौती गर्ने सम्भावनाले समीकरण थप जटिल बनाएको विश्लेषण गरिन्छ । सिन्धुपाल्चोक दुई प्रतिनिधि सभा क्षेत्रमा विभाजित छ । क्षेत्र नं. १ अन्तर्गत भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाका २, ३, ४, ९ र १० नं. वडा पर्छन् । यस क्षेत्रमा ८३ मतदान स्थल र १७२ मतदान केन्द्र रहेका छन् ।
कुल मतदाता संख्या १ लाख ३६ हजार ९८५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अघिल्लो संघीय निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच तालमेल थियो । सोही गठबन्धनबाट उम्मेदवार बनेका माधव सापकोटाले ३० हजार ३ सय ७४ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए भने रास्वपाका दिनेश श्रेष्ठले ३ हजार ४ सय ९८ मत प्राप्त गरेका थिए ।
समानुपातिकतर्फ यस क्षेत्रबाट एमालेले २२ हजार ७४, नेपाली कांग्रेसले १७ हजार २ सय ५०, माओवादी केन्द्रले १४ हजार ८ सय ८५, राप्रपाले ६ हजार ६ सय २१ तथा रास्वपाले ५ हजार १ सय ५४ मत ल्याएका थिए । अन्य दलहरू १ हजारभन्दा तलका मतमा सीमित रहेका थिए । सिन्धुपाल्चोक क्षेत्र नं. १ मा स्थानीय तहको अवस्था पनि हेर्नपर्ने हुन्छ ।
स्थानीय तहको विगतको परिणामअनुसार नेपाली कांग्रेस भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्षसहितको अवस्थामा छ । नेपाल कम्युनिष्ट पार्टी (पूर्व माओवादी) लिसंखुपाखर, बलेफी र जुगल गाउँपालिकामा अध्यक्षसहित विजयी भएको अवस्था छ । चौतारा साँगाचोकगढी नगरपालिकाका वडाहरूमा पनि पूर्वमाओवादीको प्रभाव छ । नेकपा (एमाले) सुनकोशी गाउँपालिकामा मात्र अध्यक्षसहित विजयी भएको छ, अन्य तहमा प्रमुख प्रतिस्पर्धीको रूपमा रहेको छ ।
यसपटक क्षेत्र नं. १ मा एमाले,कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी र रास्वपाबीच चौपक्षीय भिडन्त हुने आंकलन गरिएको छ । तीन पुराना दलको मत नयाँ दलले काट्ने आधारमा परिणामको आंकलन गर्न सकिन्छ । यसपटक रास्वपाले कुन दलको कति मत कटौती गर्छ भन्ने कुराले निर्णायक परिणाम निस्कने धेरैको बुझाइ छ ।






