चौतारा ।

सिन्धुपाल्चोक क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गराएसँगै चुनावी माहौल एकाएक चर्किएको छ । मुख्य राजनीतिक दल एमाले, कांग्रेस, नेकपा, साथै रास्वपा र राप्रपाका उम्मेदवारबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
यो क्षेत्रमा इन्द्रावती गाउँपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, मेलम्ची नगरपालिका र चौतारा–साँगाचोकगढी नगरपालिकाका वडा नं. १, ५, ६, ७, ८, ११, १२, १३ र १४ परेका छन् ।
गत संघीय निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रको गठबन्धनले क्षेत्र जितेको थियो । सो निर्वाचनमा मोहनबहादुर बस्नेत (कांग्रेस माओवादी गठवन्धन ) ले ३९ हजार ३ सय ८१ मत पाएका थिए । एकलरुपमा लडेका एमालेका शेरबहादुर तामाङले २७ हजार ५ सय १५ मत पाएका थिए । राप्रपाका नरसिंह श्रेष्ठले २ हजार ८ सय २० मत पाएका थिए । त्यस्तै रास्वपाकी माया गुरुङले २ हजार ४ सय ५३ मत पाएकी थिइन् । यो निर्वाचनमा समानुपातिकतर्फ भने नेकपा (एमाले) को २३ हजार ९ सय ९५ मत आएको थियो । नेपाली कांग्रेसले २० हजार ७ सय ६ मत पाएको थियो । माओवादी केन्द्रले १५ हजार ५ सय ५६,राप्रपाले ६ हजार ६ सय २१, रास्वपाले ५ हजार १ सय ५४ र एकीकृत समाजवादीले १ हजार १५ मत पाएका थिए ।
गत स्थानीय तहको निर्वाचनमा मेलम्ची नगरपालिकामा कांग्रेसले प्रमुखसहित जितेको थियो । हेलम्बु गाउँपालिकामा कांग्रेस अध्यक्षसहित नै बलियो अवस्थामा जितेको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिकामा एमालका उम्मेदवार बिजयी भएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा त झन् पुरानै टिम दोहोराएर जितेको हो । चौतारा साँगाचोकगढी नगरपालिकामा भने तत्कालीन माओवादी केन्द्रको प्रभाव देखिएको थियो । तत्कालीन माओवादी (हालको नेकपा) ले इन्द्रावतीमा २ वडा अध्यक्ष र चौतारा–साँगाचोकगढीमा ६ वडा जितेको थियो ।
यी तथ्यका आधारमा यस क्षेत्रको मुख्य प्रतिस्पर्धा एमालेका शेरबहादुर तामाङ कांग्रेसका वंशलाल तामाङ बीचमा हुने आँकलन गरिएको छ ।
तर कांग्रेसका उम्मेदवार वंशलाल अमेरिकी पीआरधारी भएको चर्चा र अमेरिकामा घर किनिएको तस्बिर सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् । सो विषयमा प्रश्न उठिरहेका छन् र यसको फाइदा नेकपाका युवराज दुलालले उठाइरहेका छन् । दुलालका कार्यकर्ताले बंशलालविरुद्ध नै अभियान चलाइरहेका छन् । रास्वपाले पहिले तयारी गरिएकी माया गुरुङ लाई पछि हटाएर क्षेत्र नं. १ का अजय श्रेष्ठलाई उम्मेदवार बनाएको छ। यसले पार्टीभित्र असन्तोष उत्पन्न गराएको छ। रास्वपाले काट्ने मत नै अन्तिम परिणाममा निर्णायक हुने विश्लेषकहरू बताउँछन् ।






