नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको सम्भावित अभावलाई व्यवस्थापन गर्न सिलिन्डरमा आधा ग्यास भरेर बिक्री वितरण गर्ने निर्णय गरेको छ।

निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लाे दुई–तीन महिनादेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको माग उल्लेख्य रूपमा बढेको छ। साथै मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको बताइएको छ।
नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने मुलुक भारतमा समेत सर्वसाधारण उपभोक्तालाई ग्यास आपूर्तिमा समस्या देखिएको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास किनेर भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ।
यस अवस्थालाई ध्यानमा राख्दै आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन निगमले भाेलि देखि अर्को निर्णय नभएसम्म ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको जनाएको छ।






