काठमाडौं । जल तथा मौसम विज्ञान विभाग ले भोलि बुधबार देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने का अनुसार एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको र भोलिदेखि थप सक्रिय हुने भएकाले मौसमअनुसार सतर्कता अपनाउन आग्रह गरिएको हो।
उनका अनुसार यसको प्रभाव पश्चिम नेपालमा बिहानैदेखि देखिनेछ भने दिउँसोसम्म काठमाडौँसम्म फैलिनेछ।
विभागले जारी गरेको बुलेटिनअनुसार बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।
ती प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा, साथै मधेस प्रदेश र तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।
मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। विभागले बिहीबार पनि मौसम बदली रहने जनाएको छ।







