काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न नवौँ प्रदेश महासंघकाे निर्वाचनबाट उनले प्रतिस्पर्धी दुर्गाराज श्रेष्ठलाई पछि पार्दै नेतृत्व सम्हालेका हुन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठले पदभार सम्हाल्दै पारदर्शिता, उत्तरदायित्व र सुशासनमा आधारित नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफ्नो नौ बुँदे योजना कार्यान्वयनमा केन्द्रित रहने बताएका छन् ।
उनका अनुसार तातोपानी र रसुवागढी नाकामा देखिएका आयात–निर्यात समस्याको समाधान खोजिनेछ भने दोहोरो कर, नापतौल, अन्डर बिलिङ र मिसम्याचजस्ता मुद्दामा सरकारको ध्यानाकर्षण गराइनेछ ।
यस्तै, निजी क्षेत्रका समस्या समाधानमा सक्रिय भूमिका खेल्दै भवनविहीन जिल्ला तथा नगर उद्योग वाणिज्य संघका लागि जग्गा र भवन व्यवस्थापनमा तीनै तहका सरकारसँग सहकार्य गरिने उनले बताए ।
श्रेष्ठले ‘प्रदेश व्यवसाय ऐन, २०७६’ लाई व्यवसायीमैत्री बनाउन संशोधन पहल गर्ने, केन्द्रीय नेतृत्वसँग सहकार्य बढाउने र आधुनिक कृषि तथा प्रविधिको विकासमा जोड दिने योजना पनि अघि सारेका छन् ।
उनले कृषि, पर्यटन, जलविद्युत् र व्यापार क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारसँग सहकार्य गर्ने तथा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्दै ‘व्यवसायमा महिला, बागमती प्रदेशमा पहिला’ अभियानमार्फत उत्पादनको बजारीकरणमा सहयोग गर्ने उल्लेख गरेका छन् ।







