मेलम्ची: विगत साढे चार दशकदेखि प्रदूषित बन्दै गएको बाग्मती नदीलाई शुद्ध बनाई बाग्मतीको जलले पशुपतिनाथलाई स्नान गराउने उदेश्यले आयोजित ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा’ गर्दै स्फटिकेश्वर महादेव मन्दिर मेलम्ची १३ फट्केस्वर आइपुगेको छ । उक्त टोलिलाई मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्वागत गर्नुभयो ।

आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवम् पवित्र बाग्मती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) गर्न लागिएको आयोजकले जनाएको छ ।
पशुपतिनाथ, पाशुपतक्षेत्र तथा बाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने पदयात्राको मुख्य उद्देश्य रहेको महेश सन्न्यास आश्रमका पीठाधीश एवम् महेश संस्कृत गुरुकुलम्का अध्यक्ष स्वामी रमणानन्द गिरिले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं बाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा सुरु गरिएको हो। स्वामी गिरिको सत्सङ्कल्पमा पदयात्रा गरिएको जनाइएको छ।
कुसेस्वर, भिमेश्वर,काफेस्वर,कश्यपेस्वर र स्फटिकेस्वर सम्म यात्रा गरिएको छ ।
चैत १६ गते पशुपति क्षेत्रबाट आदिलिङ्ग कुशेश्वरतर्फ यात्रा गरि कार्यक्रमको सुरुवात गरिएको हो । पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट भएको स्वामी गिरिले बताउनुभयो ।
कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुरलगायत क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शनका लागि पनि पैदल यात्रा गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तीमा ३५–४० दिनमा बाग्मती प्रदेशका १० जिल्लामा रहेका सिद्धलिङ्गको तीर्थयात्रा सम्पन्न हुने अनुमान गरिएको छ।
पदयात्राका संयोजक पण्डित कपिलदेव सुवेदीले ६४ शिवलिङ्गको यस किसिमको यात्रा प्रताप मल्लपछि अहिले गर्न लागिएको जानकारी बताउनुभयो ।
पदयात्रा समितिका सचिव श्यामकृष्ण सुवेदीले ६४ शिवलिङ्गमध्ये २४ वटा काठमाडौंमा रहेका जानकारी दिनुभयो । उहाँका अनुसार पदयात्राका क्रममा काठमाडौं वरपरका १० जिल्लाबाट तीनपटक पशुपतिनाथको परिक्रमा हुनेछ।






