ठगी कार्यमा संलग्न तीन जना पक्राउ, नक्कली सुनका गहना बरामद
सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले नक्कली सुनका गहना बनाई ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार विभिन्न प्रकारका नक्कली गहना तयार गरी सुनको भनी झुक्याएर बिक्री गर्ने तथा करिब १८ लाख रुपैयाँ बराबरको ठगी गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा चौतारा साँगाचोकगढी नगरपालिका–९ का ३१ वर्षीय राम पोखरेल, ३० वर्षीय दिनेश तामाङ र ३२ वर्षीय शम्भु विक रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट विभिन्न प्रकारका गहना बरामद गरेको छ। बरामद सामानमा २४ ठुला थान तिलहरी, ४ थान नौगेडी, १ थान सानो तिलहरी, १ थान सेतो पनधा, १ थान लकेट, २ थान चुरा, १ थान चोकर, १ थान बेरुवा औंठी, ८ फरक साइजकाे मुन्द्रा, २ थान चारपाटे रिङ र हरियो पोते भएको १ थान माला गरी जम्मा ४७ थान गहना रहेका छन्।
प्रहरीले यस्ता ठगीजन्य गतिविधिबाट सचेत रहन तथा अपरिचित व्यक्तिबाट बहुमूल्य वस्तु खरिद नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, यस्ता घटनाबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।







