सिन्धुपाल्चोक : नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक ले लागुऔषध (खैरो हेरोइन) सहित ४ जनालाई पक्राउ गरेको छ।
कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सिन्धुपाल्चोकको लिसंखुपाखर मुडे बजारमा रहेको एक होटलमा विदेशी नागरिक सहित केही व्यक्तिहरूले लागुऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।
सो क्रममा प्रहरीले खैरो हेरोइनसहित ४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा इलाम, झापा र धनुषा जिल्लाका ३ जना नेपाली नागरिक र एक विदेशी नागरिक रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाबाट करिब ७.१६० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, विभिन्न कम्पनीका मोबाइल फोन र नगद रु १५ हजार ९ सय २५ समेत बरामद गरिएको छ।
प्रहरीले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि विशेष अभियान सञ्चालन गर्दै आएको जनाउँदै यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ। साथै, लागुऔषध सम्बन्धी कुनै सूचना वा शंका भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।







